+
Side Bar Header Desktop Recovered

कपिल अज्ञातका पाँच मुक्तक

Kyoto Khabar
Posted on 4 months ago


देखे जति पुस्तकभित्र पढ्न सकिँदैन
भेटे जति शत्रुसँग लड्न सकिँदैन
मनलाई तनले पनि साथ दिन प¥यो
सोचेजति शिखर चढ्न सकिँदैन।

मुक्तकमा वेग हुनुपर्छ, संवेग हुनुपर्छ
प्रतीक–विम्बमै पनि अर्थको भेग हुनुपर्छ
चतुष्पदमै रामायण–महाभारत बोल्न सक्ने
सारमा गर्जेर वर्षिने प्रकृतिको मेघ हुनुपर्छ।

कलाकारले कति सुन्दर चित्र बनाएको छ
यही कलाले पशुलाई पनि मित्र बनाएको छ
त्यसैले सिर्जन कलामा ठूलो शक्ति छ भन्छन्
कलाले नै संसार विचित्र भित्र बनाएको छ।

राजनीतिमा कस्तो यो व्यवहार भएको छ
योजना प्रचार नभई गाली प्रसार भएको छ
देश कसरी बनाउने भन्ने कसैका कुरा छैनन्
मानौँ उम्मेदवार नै विपक्षीको जार भएको छ।

उडाएपछि परेवा आकाशमा बाज हुन्छ नै
भएपछि भेडाबाख्रा जङ्गलीराज हुन्छ नै
रोजगारबिना गाउँ के देशै सिद्धिन्छ भोलि।
बसेर मागिखान जल्लाई नि लाज हुन्छ नै।

प्रतिक्रिया

Bio