+
Side Bar Header Desktop Recovered

कान्साईमा पहिलो मौलिक तीज गीत प्रतियोगिता आयोजना हुँदै

Kyoto Khabar
Posted on 3 months ago

ओसाका  । नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज–२०२६ को अवसर पारेर गल्कोट समाज जापान, क्षेत्रीय समिति कान्साईले “प्रथम मौलिक तीज गीत प्रतियोगिता–२०२६” आयोजना गर्ने भएको छ।
नेपाली मौलिक कला, संस्कृति, परम्परा, भेषभूषा तथा नेपाली पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा कान्साई क्षेत्रमा क्रियाशील नेपाली सामाजिक संघ–संस्था, क्षेत्रीय संस्था, महिला तथा युवा समूह, सांस्कृतिक समूह, क्लबलगायत इच्छुक समूहहरूलाई सहभागिताका लागि आह्वान गरिएको छ।
प्रतियोगिता २०२६ सेप्टेम्बर ११ तारिख मा हुनेछ। प्रत्येक टिममा ७ देखि ११ जनासम्म सहभागी हुन पाउनेछन्। प्रतियोगितामा प्रस्तुत गरिने गीत तथा नृत्य नेपाली मौलिक तीजको भाका र लयमा आधारित हुनुपर्नेछ भने सहभागीका लागि नेपाली मौलिक पोशाक अनिवार्य गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन ५ हजार जापानी येन दर्ता शुल्क तोकिएको छ। टिम दर्ता सेप्टेम्बर ५ तारिख साँझ ५ बजेसम्म गरिसक्नुपर्नेछ।
प्रतियोगिताका विजेताका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुने टिमले ७७ हजार ७७७ येन, द्वितीय हुने टिमले ५५ हजार ५५५ येन र तृतीय हुने दुई टिमले जनही २२ हजार २२२ येन सहित प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगितामा मौलिकता, गीत–संगीत, नृत्य, भेषभूषा, प्रस्तुतीकरण तथा नेपाली तीज संस्कृतिको प्रतिनिधित्वलगायतका आधारमा निर्णायक मण्डलले मूल्याङ्कन गर्नेछ। निर्णायक मण्डलको निर्णय अन्तिम हुने आयोजकले जनाएको छ।
टिम दर्ता तथा थप जानकारीका लागि गल्कोट समाज जापान, क्षेत्रीय समिति कान्साईका अध्यक्ष सन्देश बुढाथोकी वा टिम दर्ता संयोजकहरूसँग सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।
जापानमा व्यस्त प्रवासी जीवन बिताइरहेका नेपाली समुदायबीच मौलिक तीज गीत, संगीत, नृत्य, भेषभूषा र परम्परालाई जीवन्त राख्दै नयाँ पुस्तासम्म नेपाली संस्कृतिको हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।

प्रतिक्रिया

Bio