लेखिका सुनिता अधिकारीको “सुनिताका अनुभूतिहरू” नामक कविता सङग्रह हालै प्रकाशनमा आएको छ । अधिकारीको यो पहिलो काव्य सङ्ग्रह हो, यस सङ्ग्रहले नेपाली साहित्यमा नयाँ पुस्ताको ताजा संवेदनशील आवाजलाई प्रस्तुत गरेको छ । यो पुस्तक ज्योति प्रकाशन प्रा.लि.बाट प्रकाशित भएको हो ।
यो कविता सङ्ग्रहमा लेखिकाले आफ्ना अनुभूति, भावना र जीवनका विविध आयामहरूलाई सरल ढंगले लेखेकी छिन् । यस सङग्रहका कविताहरूमा प्रेमको पवित्रता, समसामयिक समयको पीडा, मानिसभित्र उपन्न हुने आशा, निराशा, सामाजिक यथार्थ , देशप्रेम, प्रकृतिप्रेम, आमाको माया, नेपाली स्वाभिमान र वर्तमान समाजको असन्तुष्टि जस्ता विषयहरू आएका छन् । कवि सुनिता अधिकारीले यी बहुआयमिक विषयलाई काव्यको मालामा उनेकी छिन् । लेखिका अधिकारीको भाषा सरल, प्रवाहपूर्ण र हृदयस्पर्शी छ , जस कारण यी अनुभूतिपरक कविताहरू पाठकहरूलाइ पठनीय लाग्छ भनेर विश्वास गर्न सकिन्छ ।
सबै कवितामा नभएपनि केही कवितामा प्रतीक र अलंकारको प्रयोग कलात्मक छ । केही कविता अभिधात्मक पनि लाग्छन् ।
पुस्तकको पछाडिपट्टि ब्लर लेख्दै वरिष्ठ कवि तथा संस्कृतिविद तुलसी दिवसले समेत कवि सुनिताको लेखनलाई तारिफ गर्दै युवाहरूको सशक्त अभिव्यक्तिको सुन्दर संगम भनेका छन् ।
नेपाली काव्य क्षेत्रका उत्कृष्ट व्यक्तित्वहरू शैलेन्द्र साकार , डा. बेन्जु शर्माले ब्लर मार्फत नै यो कविता सङग्रहको प्रसंसा गरेका छन् ।
साहित्यकार मणिराज सिंहले लेखिकाले प्रतीक र अलंकारमार्फत मनका भावहरूलाई कलात्मक रूपमा व्यक्त गरेको कुरा ब्लरमै लेखेको देखिन्छ ।
सि.ए. पढ्दै गरेकी अधिकारी नेपाली साहित्यमा समर्पित हुनु उदाहरण हो ।
हेरौं उनको कविताको एक अंश –
पृथ्वीको धरातलमा मौन भएर
एक मुट्ठी धुलोमा रमाउँदै
पारिलो घामको खोजीमा ऊ भौतारिइरहेको छ
बस्तीको साँगुरा झ्यालहरूबाट
चियाउँदै गरेका निष्क्रिय सपनाका अभिव्यञ्जना भित्र
हुर्केको जोशलाई विसाउँदै
हिउँ बोकेर बादलमुनि पग्लँदै रहेकोछ
सगरमाथा ।
( सगरमाथा सुसाइरहेको छ , सुनिताका अनुभूतिहरू , पृ.७)
पहिलो सङ्ग्रह भएकाले केही कवितामा भावनाको तीव्रता बढी भए पनि गहिरो प्रतीक वा संरचनागत परिपक्वता अझै विकास हुने ठाउँ छ। तर यो उमेर र अनुभवसँगै स्वाभाविक रूपमा आउने कुरा हो। अहिलेलाई लेखिकालाई हामीले प्रोत्साहित गर्न जरुरी छ ।
“सुनिताका अनुभूतिहरू” भित्रका कविताहरूले महिलाहरूका जीवन यात्रा, मानिसका सपना, पीडा र आशाको दस्तावेजलाई तीव्रताका साथ सम्बोधन गरेका छन् । नेपाली साहित्यमा पछिल्लो समयका युवाहरूको आवाज खोज्नेहरूले यो पढ्नुपर्ने कृति हो। यसले पाठक मनमा मीठो अनुभूति र केही प्रश्नहरू छोड्छ , जसले पाठकलाई सोच्न बाध्य बनाउँछ।
About
contact
Date Converter

