नेपाली साहित्य समाज जापानले आयोजना गरेको कार्यक्रममा कवि रविन शर्माको कृति *‘देउता बनाउने कारखाना’*को भव्य लोकार्पण सोलमारी मुरा हल, शिन-ओकुबोमा सम्पन्न भयो। महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न यस ऐतिहासिक कार्यक्रममा एनआरएनए जापानका उपाध्यक्ष, पूर्व सांसद, वरिष्ठ पत्रकार, समाजसेवी, साहित्यकार, र जापानस्थित नेपाली समुदायका विशिष्ट व्यक्तिहरूको उत्साहजनक उपस्थिति रह्यो।
कार्यक्रमको मुख्य आकर्षण रविन शर्माको एकल कविता वाचन थियो। ‘पाहुना,’ ‘सिन्दूर,’ ‘आमा म घर फर्कें,’ र ‘आराध्याको पहिलो दसैँ’ जस्ता मार्मिक र शक्तिशाली कविताहरू सुनेर हलमा पूर्ण शान्ति छायो, र श्रोता मन्त्रमुग्ध भए। उनका शब्दहरूले श्रोतालाई भावनात्मक गहिराइमा पुर्याए। उपस्थित दर्शकका आँखामा ती कविताका मिठासपूर्ण भावनाहरू झल्किन्थे। शर्माले नवसिर्जित कविताहरू समेत प्रस्तुत गर्दै आफ्नो साहित्यिक प्रतिभाको प्रदर्शन गरे। जापानजस्तो व्यस्त देशमा पनि सोलमारी हल खचाखच भरिनु, नेपाली साहित्य र संस्कृतिप्रतिको गहिरो माया र प्रवासी नेपालीहरूको प्रतिबद्धताको प्रमाण थियो। प्रमुख अतिथि महामहिम डा. सुवेदीले कवि शर्माको साहित्यिक योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै भने, “रविन व्यक्ति मात्र होइनन्, व्यक्तित्व हुन्। उहाँले आफ्ना लेखनहरूले समाजलाई सकारात्मक मार्गमा डोर्याउन महत्त्वपूर्ण भूमिका खेलिरहनुभएको छ।” कार्यक्रममा साहित्यिक परिचय, पुस्तक चर्चा, र शुभकामना मन्तव्यहरू प्रस्तुत भए। कार्यक्रमको सञ्चालन अनेसास जापान च्याप्टरकी सदस्य बिनिशा सापकोटाले गर्नुभएको थियो भने अतिथिहरूलाई स्वागत अनेसासकी सचिव सङ्गीता कुँवरले गर्नुभएको थियो।
यसअघि, कवि रविन शर्माको कृति *‘देउता बनाउने कारखाना’*को नेपालमा पनि पर्वत जिल्लाको मंगलोदय माविमा लोकार्पण गरिएको थियो। प्रवासमा रहँदा पनि नेपाली साहित्यको सुगन्ध फैलाउने कवि शर्माको यो प्रयास ऐतिहासिक मात्र नभएर प्रेरणादायी पनि हो।
About
contact
Date Converter

