+
Side Bar Header Desktop Recovered

जापानमा मार्चमा ३५ लाख विदेशी, अहिलेसम्मकै उच्च

Kyoto Khabar
Posted on 1 year ago

 

टोकियो – जापानमा मार्च महिनामा विदेशी आगन्तुकहरूको संख्या अहिलेसम्मकै उच्च पुगेको छ। जापान राष्ट्रिय पर्यटन संगठन (JNTO) का अनुसार, मार्च २०२५ मा कुल ३५ लाख (३.५ मिलियन) विदेशी पर्यटक जापान आएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा १३.५ प्रतिशतले बढी हो।

जनवरीदेखि मार्चसम्मको तीन महिनामा विदेशी पर्यटकहरूले जापानमा २.३ ट्रिलियन येन (झण्डै १६ अर्ब अमेरिकी डलर) खर्च गरेका छन्। जापान पर्यटन एजेन्सीका प्रारम्भिक तथ्यांक अनुसार, यो खर्च अघिल्लो वर्षको तुलनामा २८.४ प्रतिशतले वृद्धि भएको हो। मुख्य रूपमा खाना र आवासमा खर्च उच्च देखिएको छ।

देश अनुसार हेर्दा सबैभन्दा धेरै पर्यटक दक्षिण कोरियाबाट आएका छन्, जसको संख्या ६,९१,७०० रहेको छ। चीनबाट आएका आगन्तुकको संख्या ६,६१,७०० पुगेको छ, जुन गत वर्षको तुलनामा ४६.२ प्रतिशतले बढी हो।

सन् २०२५ को पहिलो त्रैमासिकमा (जनवरी–मार्च) जापान भ्रमण गर्ने कुल आगन्तुकको संख्या १ करोड ५ लाख पुगेको छ। यो पहिलो पटक कुनै वर्षको प्रारम्भिक त्रैमासिकमै १ करोडको आंकडा पार गरेको हो।

जापानमा मार्च महिनादेखि सुरु हुने चेरी ब्लोसम (सकुरा) मौसमको आकर्षणले पनि पर्यटकको चाप बढाएको बताइएको छ। पर्यटनको यो बृद्धिलाई जापानले सकारात्मक संकेतको रूपमा लिएको छ र भविष्यमा अझ बढी पर्यटक आकर्षित गर्न रणनीतिहरू अगाडि बढाइने जनाइएको छ।

प्रतिक्रिया

Bio