बाग्लुङ्गको बिहुँकोटमा जन्मिएका यमलाल कंडेल नेपाली गीतसंगीतमा आफ्नो मौलिक पहिचान बनाउँदै गएका एक संवेदनशील स्रष्टा हुन्। बाल्यकालदेखि नै भावनालाई शब्दमा बाँध्ने रहर बोकेका कंडेलले आज लोक, तिज विशेष र आधुनिक गीतमार्फत नेपाली जनजीवनका विविध अनुहारहरू उतार्दै आएका छन्। उनका सिर्जनामा आमाको ममतादेखि समाजको बेइमानी, प्रेमको बिछोडदेखि चाडपर्वको उल्लाससम्म सबथोक पाइन्छ। “ममता”, “सवाल”, “बेईमानी”, “कसले होला लानी”, “हाँस्नि हो नाच्नी हो” जस्ता गीतहरू उनको कलाको जीवन्त उदाहरण हुन्।
स्वर, शब्द र संगीत तीनै पाटामा आफ्नो आत्मालाई पोख्ने यमलाल कंडेल बहुपक्षीय स्रष्टा हुन्। कहिले रामजी खाँड, प्रमोद खरेल, समिक्षा अधिकारीजस्ता लोकप्रिय कलाकारसँग सहकार्य गरेका छन्, त कहिले आफ्नै स्वरमार्फत गीतमा प्राण भरेका छन्। उनको लेखाइमा केवल मनोरञ्जन होइन, एक सन्देश छ, एक आत्मीयता छ, र एउटा सांस्कृतिक बन्धन पनि। यही कारण उनका सिर्जनाले देश विदेशका नेपाली मन जितिरहेका छन्।
हाल जापानमा करिब १३ वर्षदेखि बसोबास गरिरहेका यमलाल कंडेलले भौगोलिक दूरीलाई सिर्जनाले नाघेका छन्। मातृभूमिप्रतिको माया उनले कलम र मण्डलामार्फत अभिव्यक्त गरिरहेछन्। “लाखौं कोशिस”, “बेईमानी सानी” र “भूतुक्कै भएँ” जस्ता नयाँ गीतहरू चाँडै नै श्रोतामाझ आउने तयारीमा छन्। उनका शब्दहरू केवल गीत होइनन् उनीभित्रको देश, भावना र संस्कृति बोल्ने आत्मा हुन्।
About
contact
Date Converter

