बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका–६, बिहु इनारपानीमा जन्मिएका दीपक कंडेल नेपाली गीत संगीतमा एक समर्पित सर्जकको रूपमा परिचित छन्। ग्रामीण परिवेशमा हुर्किए पनि उनको मन भने सधैं साहित्य र संगीतको मिठासमा रमायो। कलम समाउने साहस उनले “हिरा मोति” गीतबाट देखाए, जहाँ शब्दहरूले भावना बोकेर स्रोता दर्शकको हृदय छुन सफल भयो। त्यही गीतबाट सुरु भएको यात्रा आज ५४ भन्दा बढी गीत सम्म पुगेको छ।
दीपक कंडेलको गीतहरूमा ग्रामीण जीवनशैली, पारिवारिक सम्बन्ध, समाजका यथार्थ पीडा र मानवीय भावना गहिरो रूपमा झल्किन्छन्। “कठै मेरो जुनी” जस्तो गीतले नियतिको निर्ममतालाई चित्रण गर्छ भने “यस्तै छ बाबा” ले पिताको माया, संघर्ष र असहायपनलाई छर्लङ्ग पार्छ। “झल्को आम्चका” र “स्वर्गकी अप्सरा” जस्ता गीतहरूमा चाहिँ बाल्यकाल, आमाको सम्झना र कल्पनाको सौन्दर्य मिसिएको पाइन्छ। यी गीतहरू उनले आफ्नै युट्युब च्यानल मार्फत आम दर्शकमाझ ल्याइरहेका छन्, जसमा शब्दको भावनात्मक गहिराइ र संगीतको लयात्मक प्रस्तुति दुवै अवलोकन गर्न सकिन्छ।
“मेरि छोरी” शीर्षकको गीत दीपक कंडेलको जीवन र सिर्जनाको एउटा ऐतिहासिक मोड बन्न पुगेको छ। आफ्नै छोरीलाई समर्पित यो गीतले समाजमा नारीप्रतिको माया, सम्मान र आशाको सन्देश बोकेको छ। उक्त गीतले युट्युबमा ५ करोडभन्दा बढी पटक हेरिएको सफलता प्राप्त गरेको छ। भावनाले भरिएको यस गीतमा न कुनै बनावटीपना छ, न कुनै लोभ—छ त केवल छोरीप्रतिको बुबाको निःस्वार्थ माया र भविष्यप्रतिको प्रार्थना।
दीपक हाल लामो समयदेखि जापानमा व्यवसाय गर्दै आएका छन्। विदेशको व्यस्त जीवनशैलीबीच पनि उनी आफ्ना मौलिकता, भाषा र सांस्कृतिक चिनारीलाई कहिल्यै बिर्सेका छैनन्। उनले विदेशमा कमाएको धनलाई केवल व्यापारमा सीमित नराखी गीत संगीत र साहित्यमा लगानी गर्दै आएका छन्। यसरी उनले साहित्यलाई व्यवसायिक मोडमा लैजाँदै नेपालीपनको मौलिक संरक्षण गरिरहेका छन्।
उनका गीतहरूमा लोक भाषा, मिथक, परम्परा र समसामयिक यथार्थ मिसिन्छन्। उनले कलम चलाउँदा केवल गीत लेख्दैनन् साहित्यिक दस्तावेज तयार पार्छन्, जसमा समय, समाज र संस्कृति बोल्छन्। उनका रचनामा “शब्द” केवल उच्चारणका रूपमा होइन, अनुभूति, पीडा, माया र सन्देशका रूपमा व्यक्त हुन्छन्। साहित्यमै रम्न सक्ने, अनि संगीतमा पोखिन सक्ने यी दुवै गुणले दीपक कंडेललाई विशेष बनाएको छ।
दीपक कंडेल केवल गीतकार होइनन् एक सन्देशवाहक साहित्यिक स्रष्टा हुन्। उनका सिर्जनाले भावनालाई शब्दमा र शब्दलाई संगीतमा रूपान्तरण गर्छन्। उनलाई सुनेपछि गीत मात्र होइन, एउटा जीवन अनुभूत हुन्छ। गीतमार्फत प्रेम मात्र होइन, चेतना र प्रेरणा दिने उनीजस्ता सर्जकको उपस्थितिले नेपाली साहित्य–संगीत अझ समृद्ध र सशक्त हुँदै गएको छ।
About
contact
Date Converter

