+
Side Bar Header Desktop Recovered

जापान प्रवेश गर्ने नयाँ नेपालीहरूलाई आवश्यक सतर्कता: ठगी, शोषण र नियम उल्लंघनबाट जोगिन आग्रह – नरेंद्र बस्नेत दिनेश

Kyoto Khabar
Posted on 11 months ago

पछिल्लो समय जापानमा काम, अध्ययन वा विभिन्न उद्देश्यका लागि आउने नेपालीहरूको संख्या बढ्दो छ। यससँगै विभिन्न खालका चुनौती, ठगी र शोषणका घटनाहरू पनि बढेका छन्। सामाजिक सञ्जालमा भाइरल हुने लहडमा कसैको अनुमति बिना बदनाम गर्ने, गलत आशय राखी काम दिलाउने निहुँमा व्यक्तिगतरूपमा फाइदा उठाउने जस्ता गतिविधिहरू देखिँदै आएका छन्। जापानजस्तो नियम कानुनमा चल्ने देशमा यस्ता गतिविधि गम्भीर कानुनी कारबाहीको विषय बन्न सक्छन्।

काम खोज्ने क्रममा नेपालीहरूको लागि भनेर काम गर्ने हाक्केन (job recruitment) कम्पनीहरूमा सहयोग गर्ने नेपाली स्टाफहरू हुन्छन्, जसले निःशुल्क काम खोज्ने प्रक्रिया अगाडि बढाउँछन्। तर केही व्यक्तिहरू कमिसनको नाममा पैसा असुल्न खोज्ने गर्छन्, जसबाट सजग रहन जरुरी छ। यस्तै, फेसबुकमा ‘Sponsored’ भएर आएका कामका विज्ञापन वा सस्तो सामान बेच्ने पोस्टहरू ठगीको जाल हुनसक्छन्। मिल्दोजुल्दो नाम वा फोटो राखेर व्यक्तिगत म्यासेज पठाउनेहरूबाट पनि सतर्क रहन सुझाव दिइएको छ।

सहयोग गर्ने संघसंस्थाको नाममा हुने ठगी पनि बढ्दो छ। आफूलाई विद्यार्थीको साथी वा सहयोगी भन्दै नजिक हुने केही व्यक्ति र समूहले व्यक्तिगत फाइदाको लागि संघसंस्थालाई हतियार बनाउने गरेको पाइएको छ। त्यसैले सहयोग गर्ने व्यक्तिको पृष्ठभूमि बुझेर मात्र विश्वास गर्नु उपयुक्त हुन्छ। विशेष गरी महिला दिदीबहिनीहरूलाई काम सिकाउने बहानामा हुने दुर्व्यवहार र शोषणका घटनाहरू पनि उजागर भएका छन्। यस्तो अवस्थामा प्रारम्भमै प्रतिकार गर्नु आवश्यक छ।

जापानको दैनन्दिन जीवनमा साइकल महत्वपूर्ण साधन भए पनि यसलाई नियमअनुसार चलाउनु जरुरी छ। हेल्मेट प्रयोग, ट्राफिक सिग्नलको पालना, र साइकल बीमा गर्नु अनिवार्य छ। पछिल्लो समयमा साइकल दुर्घटनाका कारण लामो उपचारको अवस्थासम्म पुग्ने घटना देखिएका छन्, जसमा धेरै नेपाली संलग्न भएको तथ्य छ। सानो गल्तीले कानुनी रुपमा कमजोर पार्न सक्ने भएकाले यस्ता कुरामा विशेष ध्यान दिन आवश्यक छ।

अन्ततः, जापान अवसरको देश हो जहाँ मेहनत, इमान्दारिता र धैर्यले सफलता पाउन सकिन्छ। प्रारम्भिक चरणमा काम पाउन केही समय लाग्न सक्छ, तर त्यही समयलाई भाषा सिकाइ र रिरेकिस्यो (बायोडाटा) लेख्ने अभ्यासमा खर्चिनु भविष्यको लागि लाभदायक हुन्छ। सबै नेपालीहरूले सचेत, अनुशासित र जिम्मेवार भई अगाडि बढेमा व्यक्तिगत मात्र होइन, सामूहिक रूपमा पनि नेपाली समुदायको छवि मजबुत बन्नेछ।

प्रतिक्रिया

Bio