+
Side Bar Header Desktop Recovered

अर्घाखांची समाज जापानले जनवरी २ मा छैटौं अधिवेशन गर्दै

Kyoto Khabar
Posted on 5 months ago

-जनक कंडेल

टोकियो । अर्घाखांची समाज जापानले आफ्नो छैटौं अधिवेशन आगामी जनवरी २ मा टोकियोको सिनओकुबुस्थित रोयल गार्डेनमा आयोजना गर्ने भएको छ। जापानमा रहेका अर्घाखांचीबासीहरूलाई एकीकृत गर्दै सामाजिक एकता र सहकार्यलाई मजबुत बनाउने उद्देश्यले २०१५ सालमा स्थापना भएको समाजले यस अधिवेशनमार्फत विगत दुई वर्षभित्र सम्पन्न गरेका आर्थिक, प्रगति तथा सांगठनिक गतिविधिहरूको प्रतिवेदन सार्वजनिक गर्ने समाजका सचिव सरोज भूसालले जानकारी दिनुभयो। उहाँका अनुसार अधिवेशनले संस्थाको आगामी कार्यदिशा तय गर्नुका साथै आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने महत्वपूर्ण निर्णय लिनेछ।

समाजले जापानमा रहेका जिल्लाबासीहरू मात्र नभई नेपालस्थित अर्घाखांचीका नागरिकहरूलाई समेत भैपरी आउने प्राकृतिक विपद्, उपचार तथा अन्य आपतकालीन अवस्थाहरूमा आर्थिक, भौतिक र सामाजिक रूपमा सहयोग गर्दै आएको जनाउँदै भूसालले अधिवेशनमार्फत संस्थालाई अझ व्यवस्थित, उत्तरदायी र सक्रिय बनाउने लक्ष्य लिइएको बताउनुभयो। छैटौं अधिवेशनका लागि समाजका संरक्षक बाबुराम पौडेलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ, जसमा संरक्षक दीपक थापा र सल्लाहकार हरी गौतम सदस्य रहनु भएको छ। समाजको आगामी नेतृत्वका लागि चार जनाले आकांक्षा व्यक्त गरे पनि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको निर्वाचन संयोजक पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार समाजलाई समय दिन सक्ने, जिम्मेवारीपूर्वक काम गर्न सक्ने र समुदायलाई एकताबद्ध राख्न सक्ने व्यक्तिलाई नेतृत्व सुम्पिनुपर्नेमा सदस्यहरूको साझा धारणा रहेको छ।

 

 

प्रतिक्रिया

Bio