चुनावी माहोल तातिँदै जाँदा सामाजिक सञ्जाल, विशेषगरी फेसबुक, नेताहरूका लागि वास्तविक कामभन्दा बढी आत्मप्रचारको माध्यम बन्दै गएको देखिन्छ। २–४ सय लाइक र केही कमेन्ट पाएपछि देश नै बनाइदिन्छु जस्तो दाबी गर्ने प्रवृत्ति आजभोलि सामान्य बन्दै गएको छ। जो–कोही सार्वजनिक रूपमा भन्छ-म प्रधानमन्त्री बन्छु, यो जातले मलाई भोट दिन्छ। कहिले एउटा मुद्दा, कहिले अर्को मुद्दा उछालिए पनि स्पष्ट दृष्टि, नीति र जिम्मेवारीको अभाव भने प्रस्ट देखिन्छ। यस्तो प्रवृत्तिले लोकतन्त्रको मर्मलाई कमजोर बनाउँदै लगेको छ।
वास्तवमा देश बनाउने नेतृत्व चर्का नारा, सामाजिक सञ्जालको भीड वा भावनात्मक उत्तेजनाबाट होइन, चुपचाप आफ्नो काम, कर्म र इमानदारीबाट जनताको मन जितेर अगाडि बढ्छ। जात-भातको कुरा उठाएर समाजलाई विभाजन गर्नु समाधान होइन। नेपाल भनेको चार वर्ण, ३६ जातको सुन्दर फूलबारी हो, जहाँ विविधतामै हाम्रो एकता र शक्ति निहित छ।
चुनाव नजिकिँदै जाँदा जातीय भावनालाई उक्साएर समाज भड्काउने, जनतालाई भ्रममा पार्ने र अस्थिरता सिर्जना गर्ने गतिविधि बढ्ने खतरा पनि उत्तिकै छ। यस्ता गतिविधिले राज्य र लोकतन्त्रमा गम्भीर असर पार्नुका साथै विदेशी दलाल, भ्रष्टाचारी र अवसरवादी शक्तिहरूलाई चलखेल गर्ने मौका दिन सक्छ।
यसैले आजको आवश्यकता स्पष्ट छ,
जातीय घृणा फैलाउने र समाज भड्काउने प्रवृत्तिको बहिष्कार गरौँ।
राम्रोलाई चिन्न र सही नेतृत्वलाई समर्थन गर्न सिकौँ।
अरूको पछि लागेर अन्धभक्त (झोले) बन्ने संस्कार त्यागौँ।
हाम्रा दुःखका दिन आज पनि उस्तै छन् र भोलि पनि उस्तै रहनेछन्- यदि हामीले सोच र मत दिने तरिका बदल्न सकेनौँ भने। नयाँ मतदाताका लागि यो चुनाव केवल व्यक्ति वा नारा रोज्ने अवसर होइन, सही सोच, स्पष्ट दृष्टि र कर्म गर्ने नेतृत्व छान्ने ऐतिहासिक जिम्मेवारी हो।
लोकतन्त्र बलियो बनाउने कि कमजोर-त्यो निर्णय अब जनताको विवेक र मतमा निर्भर छ।
About
contact
Date Converter

