नेपाल मगर संघ जापानले आउँदो मार्च २ (आइतबार) का दिन ८३औं मगर दिवस भव्य रूपमा मनाउने भएको छ। जापानको ओसाका शहरस्थित J:COM Chuo Kumin Central मा आयोजना गरिने सांगीतिक साँझ साँझ ५ बजेबाट ९ बजे सम्म सञ्चालन हुनेछ। मगर समुदायको कला, संस्कृति, भाषा, र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा नाचगान समूह, तथा चर्चित राष्ट्रिय कलाकारहरू पवित्रा सरतुङ्गे मगर, कुलबिर थापा, काजोल गुरुङ्ग लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।
मगर समुदाय नेपालका आदिवासी जनजातिहरूमध्ये एक हो, जसको समृद्ध इतिहास, भाषा, धर्म, र संस्कृतिले नेपाली पहिचानमा महत्वपूर्ण भूमिका खेलेको छ। मगरहरू परम्परागत रूपमा कृषि, पशुपालन, र सैन्य सेवामा संलग्न हुँदै आएका छन्। इतिहास हेर्दा मगर योद्धाहरू गोर्खा सैन्य दलका महत्त्वपूर्ण अंग थिए, जसले नेपालको एकीकरणमा ठुलो योगदान दिएका थिए। उनीहरूको लोकसंगीत, भेषभूषा, र मौलिक परम्पराले मगर पहिचानलाई जीवित राख्दै आएको छ। जापानमा रहेका मगर समुदायले आफ्नो संस्कृतिलाई बचाइराख्न र प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरू गर्दै आएका छन्। यही सन्दर्भमा, नेपाल मगर संघ जापानले आयोजना गरेको यस सांगीतिक साँझ मगर समुदायका लागि मात्र नभई नेपाली कला, संस्कृति र मौलिकता मन पराउने सबैका लागि महत्वपूर्ण अवसर हुनेछ।
About
contact
Date Converter

