ओसाका, जापान परदेशको व्यस्त र दौडधूपपूर्ण जीवनशैलीबीच पनि नेपाली संस्कृतिको उज्यालो फैलाउने अभिप्रायसहित, जापानको ओसाका स्थित जिग्री दोहोरी साँझ मा “हरितालिका तीज” को अवसरमा विशेष दर खुवाउने कार्यक्रम भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
२७० भन्दा बढी नेपाली महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न कार्यक्रमले ओसाका र वरपरका शहरहरूमा बसोबास गर्ने नेपाली समुदायमा तीजको सांस्कृतिक भव्यता र आत्मीयता पुनः स्थापित गराएको छ।
कार्यक्रममा सहभागी महिलाहरूले परम्परागत तीज गीतहरूमा रमाउँदै, सेलरोटी, मासु, अचार, खिर, तरकारी जस्ता स्वादिला परिकारहरूको स्वाद लिँदै, आपसमा गफगाफ, अनुभव साटासाट र आत्मीय भेटघाटको मजा लिएका थिए। उक्त अवसरमा नेपाली संस्कार, नारी सशक्तिकरण र तीजको सांस्कृतिक गहिराइलाई जीवन्त बनाउने प्रयास भएको देखिन्थ्यो।

कार्यक्रमका प्रमुख आयोजक तथा समाजसेवी नारायण थापा का अनुसार, “परदेशमा यस्ता पर्वलाई आत्मीय ढंगले मनाउँदा हाम्रो मौलिक संस्कृति र पहिचान अझ मजबुत हुँदै जान्छ। यस्ता कार्यक्रमहरू हामीलाई हाम्रो जरा र आत्मासँग जोडिरहन मद्दत गर्छन्।” थापा हाल घुम्टे युवा परिवार जापान का अध्यक्ष र एनआरएनए जापान, कान्साई क्षेत्र का उप–संयोजकसमेत हुनुहुन्छ।
कार्यक्रमको आकर्षणमा चर्चित कलाकार काजल गुरुङ को सांगीतिक प्रस्तुति, सामूहिक तीज नृत्य, र फोटो सेसनले सबैलाई मन्त्रमुग्ध बनायो। सहभागीहरूका अनुसार यस्तो आयोजनाले ओसाकामा बसेका नेपालीबीच समन्वय, सद्भाव, र सामुदायिक एकता लाई अझ मजबुत बनाएको छ।
जिग्री दोहोरी साँझ का प्रतिनिधिहरूले भविष्यमा पनि यस्ता संस्कृतिक, सामाजिक र एकतामूलक कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसरी, परदेशमा रहेर पनि नेपाली संस्कृति, चाडपर्व र आपसी भावनालाई यति आत्मीय र उत्सवमय रूपमा मनाउन सकिन्छ भन्ने उदाहरण जिग्री दोहोरी साँझ मा सम्पन्न यो कार्यक्रम बनेको छ। सहभागी संख्याका हिसाबले पनि यो ओसाका क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो तीज दर कार्यक्रम बनेको आयोजकहरूको दाबी छ।
About
contact
Date Converter

