जापान । आगामी अंग्रेजी नयाँ वर्ष २०२६ लाई स्वागत गर्दै गल्कोट समाज जापानले ओसाका, नागोया र टोकियोमा भव्य ‘सांगीतिक महोत्सव–२०२६’ आयोजना गर्न लागेको छ। नयाँ वर्षको जोश, समुदायको भावना र सांस्कृतिक उत्साह मिसिएको यो कार्यक्रमले जापानमा रहेका गल्कोटे तथा नेपाली समुदायलाई एउटै मञ्चमा जोड्ने लक्ष्य लिएको छ।
संस्थाका अध्यक्ष रत्नसिंह बस्नेतका अनुसार, “हाम्रो गाउँ, हाम्रो ठाउँ—हातेमालो गरी समृद्धि गराऔँ” भन्ने मूल संदेशसहित अघि बढाइएको यो महोत्सवले समुदायभित्रको आपसी सद्भाव, सहकार्य र पहिचानलाई अझ मजबुत बनाउनेछ।
सन् २००६ मा स्थापना भएको गल्कोट समाज जापान शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र संस्कृतिको संरक्षणजस्ता विविध क्षेत्रमा सक्रिय मानिन्छ। यस वर्षको कार्यक्रमबाट संकलित रकम पनि यिनै सामाजिक उद्देश्यतर्फ उपयोग गरिने आर्थिक संयोजक महेन्द्र साहानीले पुष्टि गरे।
कार्यक्रम डिसेम्बर ३१ मा ओसाका, जनवरी १ मा नागोया, र जनवरी २ मा टोकियोमा आयोजना हुनेछ। सम्पूर्ण व्यवस्थापन सहज बनाउन मुख्य संयोजकमा दिल ब. थापा (रामु), उप–संयोजकमा डिला गैरे, सांस्कृतिक संयोजक लोकेश खत्री, आर्थिक संयोजक महेन्द्र साहानी, प्रचार–प्रसार संयोजक दिलीप कंडेल तथा तीनै शहरका छुट्टाछुट्टै संयोजकसमेत रहने गरी समिति गठन गरिएको महासचिव दिलीप कंडेलले जानकारी दिए।
लगातार दुई दशकदेखि समुदायसेवामा सक्रिय रहेको गल्कोट समाज जापानले यस वर्षको ‘सांगीतिक धमाका–२०२६’ लाई सामाजिक सहयोगसँग जोडिएको सांस्कृतिक अभियानको रूपमा अघि बढाउँदैछ। आगामी मितिहरूमा अन्य संघ–संस्थाले आफ्ना कार्यक्रम जुधाइदिन नदिन अनुरोध गर्दै संस्थाका प्रवक्ता सन्तोष पुनले जापानभर रहेका नेपालीहरूलाई आर्थिक, नैतिक र भौतिक सहयोगसहित उपस्थितिको अपिल गरेका छन्।
About
contact
Date Converter

