+
Side Bar Header Desktop Recovered

छोरालाई जापान पठाउने सपना ,सपनामै सिमित भयो

Kyoto Khabar
Posted on 11 months ago

छोरा जापान पठाउने सपना बोकेर बैंगलोर पुगेकी कैली बोहोरा आज आफ्नै छोराको मृत्युसँग बिलौना गर्दै काठमाडौंको महाराजगञ्जमा होटलको कोठामा बसिरहेकी छन्। बझाङको खप्तड छान्ना गाउँपालिका ७ की ४५ वर्षीया कैलीले चार दिनको यात्रापछि “जेन जि” आन्दोलनमा गोली लागेर ढलेको २२ वर्षीय छोरा सुभाष बोहोरा भेट्न पाएकी छैनन्।
चार महिना अघि उनले छोरालाई विदेश पठाउने खर्च जुटाउन भारतको बैंगलोरमा ज्याला मजदुरी गर्न थालेकी थिइन्। तर नियतिले उल्टो खेल खेल्यो। सोमबार दिउँसो बानेश्वरमा गोली लागेर ढलेका सुभाषलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरे। उनका बुवा दीपक बोहोरा भने २०८१ सालदेखि सम्पर्कविहीन छन्।

भक्कानिँदै कैली भन्छिन्, “एकातिर म बिरामी, अर्कोतिर भरोसाको छोरा समेत रहेन। छोरा भन्थ्यो आमा चिन्ता नगर्नुहोस्, एक दिन सुखका दिन आउनेछन्। तर आज मेरो त्यो आधारै टुट्यो।” सुभाष जापान जानका लागि कागजी प्रक्रिया पूरा गरी अन्तिम तयारीमा थिए।
फोन चलाउन समेत गाह्रो हुने कैलीलाई भारतमै हुँदा छोराको मृत्युको खबर आयो। सहयोगीहरूको साथमा उनी काठमाडौं आइपुगेकी छन्। तर अझै छोराको शव हेर्न पाएकी छैनन्। शव हाल टिचिङ अस्पतालको शवगृहमा छ।

सुभाषको कान्छो भाइ काठमाडौंमै बसेर ९ कक्षामा पढ्दै आएका थिए। दाजुको मृत्युले उनी पनि आत्तिएका छन्।

 

प्रतिक्रिया

Bio