
उकालो ओरालो, झ्याउले छाएका घर, अनि टाढा टाढासम्म फैलिएको हरियो बनजंगल। यही प्रकृतिसँग आत्मीय सम्बन्ध बनाउँदै हुर्किएका थिए कान्छा लामा। एक साधारण किसान परिवारमा जन्मिएका उनले सानै उमेरदेखि परिश्रमलाई आफ्नो धर्म माने। विद्यालय जान पहाडका काँडा चिरेर पुग्नु पर्थ्यो, तर उनको मनमा शिक्षा र भविष्यप्रतिको सपना झन् झन् गहिरिँदै जान्थ्यो। किशोरवयमै उनी ट्रेकिङ गाइडको रूपमा काम गर्न थाले। सगरमाथा, गोक्यो, लुक्ला, नाम्चे यी ठाउँहरूमा विदेशी पाहुनाहरूलाई पथ प्रदर्शन गर्ने क्रममा उनले संसारलाई हेर्ने दृष्टि फराकिलो बनाउँदै लगे। ऊँचो हिमाल चढ्ने जस्तै उनको जीवन यात्रा पनि कठिन थियो, तर कहिल्यै नथाक्ने।

२००८ मा अध्ययनको लागि जापान उडान भर्ने बेलामा उनीसँग थियो – एक झोला सपना, एक मुटु भरोसा। जापानको सुसंस्कृत समाजमा आफूलाई स्थापित गर्न उनले भाषाबाट लिएर व्यवहारसम्म सबै कुरा नयाँ रूपमा सिके। आठ वर्षको कठिन अध्ययनपछि उनले कृषि विज्ञानमा विशेषज्ञता प्राप्त गरे। माटो, मौसम, मल, बीउ यी सबैमा उनले सैद्धान्तिक र व्यवहारिक ज्ञान बटुले। उहाँको मुख्य कार्यक्षेत्र जापानको ग्रामीण भेगमा रहेको एक कृषि प्रयोग फार्म हो, जहाँ उहाँले जैविक विधिबाट स्ट्रबेरी, टमाटर, मुला, बन्दा, र अन्य मौसमी तरकारी उत्पादन गर्दै आउनु भएको छ। खासगरी उहाँको फार्ममा उत्पादन हुने स्ट्रबेरीहरू स्वाद, रूप, र गुणको हिसाबले स्थानीय बजारमा निकै लोकप्रिय छन्।
जापानी उपभोक्ताले उहाँका उत्पादनलाई ‘कान्छा-फार्म’ ब्रान्डका रूपमा चिनेका छन्। तर उहाँको सफलता यत्तिमा सीमित छैन। उहाँले आफैं खेत खनेर रोपेका बीउहरू अहिले जापानका प्रख्यात कृषि मेलामा सम्मानित भएका छन्। जापानमा हुने वार्षिक ‘ग्रीन फूड एग्रो फेयर’ मा उहाँको जैविक तरकारी र फलफूलको स्टलमा ठूला कृषिविद्हरूले रुचि देखाएका छन्।

२०२० मा जापान सरकारले उहाँलाई टोक्यो ओलम्पिकको पवित्र मशाल बोक्न आमन्त्रण गर्यो। त्यो क्षण केवल कान्छा लामाका लागि मात्र होइन, सम्पूर्ण नेपालीका लागि गर्वको विषय बन्यो। ओलम्पिकको मैदानमा मुस्कानसहित दौडदै गर्दा उनले जापानमा रहेको सम्पूर्ण नेपाली समुदायलाई भावुक बनाएका थिए। त्यो क्षण नेपालले एउटा सच्चा प्रतिनिधि पाएको अनुभूति भयो। कान्छा लामाको जीवनशैली आज पनि सरल छ। कुनै ठूला होटलमा बैठक गर्ने होइन, उनी आज पनि बिहान उठ्छन्, आफ्ना ग्रीनहाउसका ढोका खोल्छन्, बीउ हेर्छन्, मल हाल्छन्, पानी सिंचाइ गर्छन् र ग्राहकहरूसँग मुस्कुराउँदै प्रत्यक्ष रूपमा उत्पादन बेच्न जान्छन्। उहाँको फार्म आज युवाहरूका लागि प्रशिक्षण केन्द्र पनि बनेको छ, जहाँ नेपाली र विदेशी विद्यार्थीहरू कृषि प्रशिक्षण लिन आउँछन्।
उहाँले कहिल्यै आफ्ना उपलब्धिलाई प्रचारको साधन बनाउनु भएन। जब कसैलाई सहायता आवश्यक पर्छ, उहाँ चुपचाप अगाडि बढ्नुहुन्छ। चाहे नेपाली विद्यार्थीको उपचार होस्, चाहे गाउँमा विपत्तिपरेको परिवारको सहयोग उहाँ सधैं उपस्थित रहनुहुन्छ। उहाँको मान्यता छ, “सच्चा सेवा त त्यो हो जुन प्रचारबिना गरिन्छ।” कान्छा लामा हामी सबैका लागि एउटा जिउँदो पाठ हुन्। संघर्ष, परिश्रम, सरलता, समर्पणयी चारवटा शब्दमा उहाँको सम्पूर्ण जीवनलाई समेट्न सकिन्छ। विदेशमा बसोबास गर्दा पनि माटोको गन्ध, पहाडको माया, र नेपालको नाम उच्च राख्ने दृढ इच्छाशक्ति उहाँमा कहिल्यै मरेन। नेपालका युवाहरूका लागि उहाँ प्रेरणाका स्रोत बन्नु भएको छ। कान्छा लामाको कथा एउटा साधारण व्यक्तिले असाधारण यात्रा कसरी गर्न सक्छ भन्ने प्रमाण हो। उहाँले देखाउनु भएको बाटो हामी सबैका लागि आलोक हो। माटोसँगको माया, मानिससँगको आत्मीयता, अनि देशप्रतिको समर्पण यही हो साँचो सफलताको सूत्र।
About
contact
Date Converter

