+
Side Bar Header Desktop Recovered

देउता बनाउने कारखानाको खानतलासी

Kyoto Khabar
Posted on 1 year ago

पर्वत जिल्लामा जन्मिएका कवि रबिन शर्मा पछिल्ला केही बर्षदेखि जापानलाई कर्मथलो बनाएर बसिरहेका छन्। आय आर्जनको पेशाका अलवा साहित्यिक तथा सामाजिक कार्यमा निकै सक्रिय देखिने रबिन शर्मा जापानमा बसोबास गर्ने नेपालीहरू बिच परिचित र लोकप्रिय नाम हो।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको अध्यक्ष हुँदै केन्द्रीय कार्यसमितिको सचिव पद सम्हालिरहेका कवि रबिन शर्मा साहित्यका विविध विधाहरूमा समानान्तर रूपमा कलम चलाउँछन्। गीत, गजल, मुक्तक, हाइकु र कविता विधामा कलम चलाउने रबिन शर्माको केन्द्रमा भने कविता विधा रहेको देखिन्छ । हालसालै उनले आफ्ना कविताहरूलाई एकत्रित गरेर एउटा कविता सङ्ग्रह प्रकाशनमा ल्याएका छन्। टिप्पणीकार आज यिनै कवि रबिन शर्माको नवीनतम कविता कृति ‘देउता बनाउने कारखाना’मा केन्द्रित रहनेछ।

अनेसास केन्द्रीय कार्यसमिति प्रकाशक रहेको यस कृतिको मूल्य रू ३०० रहेको छ भने जम्मा जम्मी ३९ वटा कविता सङ्ग्रहित गरिएको छ। अनेसास बोर्ड अफ ट्रस्टी सभापति पदम विश्वकर्माको शुभकामना सन्देश र कवि लालगोपाल सुबेदीको समालोचकीय भूमिका रहेको यस कृति हार्ड कभरमा चलन चल्तीको भाषाअनुसार स्मार्ट साइजमा रहेको छ। आवरण पृष्ठमा रोशन प्रधानको आवरण कलाले सजाइएको छ। झट्ट हेर्दा आवरणले के भन्न खोजेको होला या कृतिको नाम र आवरण कलाको अन्तर्सम्बन्ध के होला भन्ने जिज्ञासाले पाठक आक्रान्त बन्नु स्वाभाविक जस्तो देखिन्छ।अथवा भनौँ आवरण निकै जटिल र अमूर्त छ।मिहिन ढङ्गले हर्दा निकै अमूर्त लाग्ने आवरण कलामा विज्ञान, धर्म, दर्शन र मानव अस्तित्वको संयोजन देखिन्छ । यही कुरा उनको शीर्ष कविता र त्यसको भावभूमिमा पनि लागू हुन्छ ।

मुलतः कवि रबिन प्रवासी कवि हुन् । लामो समयदेखि जापानमा बसोबास गरिरहेका उनका अधिकांश कविताहरूमा प्रवासको अनुभूति, घरदेश र आफ्नाहरूको सम्झना, माटोप्रतिको प्रेम प्रशस्त मात्रामा भेटिन्छन्। मुलतः उनको केन्द्रीय धार नै प्रवासी आवाज हो। आज देशको ठूलो हिस्सा बिभिन्न कारणले परदेशिएको छ। कवि रबिन शर्मा तिनै परदेशी मनहरूको प्रतिनिधि कवि हुन्।

फर्कनु भनेको
कसैले कतै पर्खनु पनि त हो
जाम साइँला जवानी छँदै’

गाउँले जीवनप्रति अधिकांश कविताहरूमा प्रेम पोखिएको छ कविको। उनी कविताबाटै सबैलाई गाउँ फर्कन आग्रह गर्छन् र आफू फर्कन नपाएकामा गहिरो चिन्ता पनि प्रकट गर्छन्। ग्रामीण जीवनको सुन्दरताको उजागर उनका धेरै कवितामा देखिन्छन्। गण्डकी नदीको प्रवाहसँगै हुर्केका कविको कवितामा गण्डकी नदी र गण्डकी क्षेत्रको प्रेम पनि यथेष्ट देखिन्छ । प्रकृतिप्रेम उनको कविताको खास विशेषता हो। केही कवितामा पर्यावरणप्रतिको चिन्ता पनि प्रष्ट देखिन्छ। दोहन शीर्षकको छोटो कविता-

एक दिन म कविता लेख्न नदी किनारमा बसेँ
सुसाउँदै नदी आइन्
र मेरो कानमा भनिन्-
मेरो बारे कविता नलेख
आजबाट म बग्न छाडेकी छु।’

आफ्ना कवितामा मानवतावादी स्वर मुखरित गरेका शर्मा नेपालमा विद्यमान जातीय छुवाछुत र विभेदप्रति सचेत रहँदै आफ्नो आक्रोश यसरी पोख्छन्-

ए मान्छे!
मैले हावामा सास फेरेको छु
कृपया, तैँले अर्को जन्ममा सास नफेरी
बाँच्न सिकेस्! ‘

राज्यप्रतिको आक्रोश, घर छोड्दाको आघात, जन्मभूमिप्रतिको श्रद्धा, आफ्नाहरूको याद आदि विषयवस्तुमा बढी जमेका कवि बिम्बात्मक तरिकाले खस्कदो मानवतावाद, बिग्रदो पर्यावरणीय सन्तुलन सङ्कटग्रस्त मानवीय अस्तित्व, गिर्दो साँस्कृतिक चेतना आदिमा पनि चिन्तित भएका छन्।
पैशा कमाउने होडबाजी र अतिशय प्रविधि प्रेमले मानिसलाई यन्त्र मानव बनाउँदै लगेको तितो यथार्थको अनुभव बिभिन्न कविताहरूमा प्रकट भएका छन्।

उनका कवितामा खासै नयाँ बिम्ब र बिचारको प्रयोग छैन तर आम मानव हृदयको भाषा छ। उनी मस्तिष्कले भन्दा भावनाले अभिप्रेरित छन्। कोमल हृदयका भावनाहरू यति छन् कि धारावाहिक रूपमा अटेसमटेस तरिकाले व्यक्त भएका छन्।व्यक्त हुने शैली सुन्दर छ।केही कविताहरू सुन्दर छन्। लडाइँमा लाहुरेको गीत, सिन्दुर, पाहुना, हामी को हौँ लगायतका कविताहरू बलिया कविता हुन्। केही कविताहरू औसत छन्। केही कविता काव्य तत्वका हिसाबले केही कमजोरजस्ता पनि छन्।अझै धेरै अभ्यास, अझै धेरै सम्पादन र काँटछाँटको पर्खाइमा बसेजस्ता। भाषिक शुद्धतामा खोट लगाउने ठाउँहरू छन्। विकल्पमा प्रयोग गर्न सकिने मौलिक नेपाली शब्दहरू हुँदाहुँदै सरप्राइज,फोटो,डियर,रेडिमेड,जस्ता अंग्रेजी शब्दहरूले भने थोरै बिझाउँछन्।

चन्द्रमामा पनि दाग छ। सुन्दर गुलाबको छेउँमा पनि काँडा छ। हरेक सुन्दर कुराहरूमा केही कमजोरी अवश्य हुन्छ। थोरै कमजोरीका कुराहरूलाई बिर्सिने हो भने एउटा सुन्दर र सङ्ग्रहणीय कविता कृति तयार भएको छ। आगामी कृति योभन्दा अझै सुन्दर र अझै बलियो बनेर आउनेछ भन्ने विश्वासका साथ कवि रबिन शर्मालाई बधाइ तथा शुभकामना ।

प्रतिक्रिया

Bio