काठमाडौँ — अभिनेता राजबल्लभ कोइरालाको पहिलो कवितासंग्रह औरा शनिबार लाजिम्पाटस्थित दुसित प्रिन्सेसमा सार्वजनिक गरिएको छ। कोइरालासहित कवि विप्लव प्रतीक, सञ्चारकर्मी दिलभुषण पाठक, निर्देशक दीपाश्री निरौला र पत्रकार अश्विनी कोइरालाले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।
कोइरालाले संग्रहको नाम छोरी औरा बाट राखेको खुलाए। उनले भने, “कोभिडपछि महसुस भयो कि हामी जुनसुकै बेला यो दुनियाँमा नहुन सक्छौँ। त्यसैले छोरी र शुभेच्छुकहरूको सम्झनाका लागि केही छाडेर जान मन लाग्यो, जसले गर्दा यो कविता संग्रह जन्मियो।”
कार्यक्रममा कवि विप्लव प्रतीकले कोइरालाका कविताहरू गहिरा र प्रभावशाली रहेको बताउँदै, “यी कविताहरू कम्तिमा १११ दिन लगाएर पढ्नुहोस्,” भन्ने सुझाव दिए। निर्देशक दीपाश्री निरौलाले कोइरालाको कवित्व परिपक्व रहेको बताउँदै चलचित्रमा पनि निरन्तर देख्न चाहेको उल्लेख गरिन्।
त्यस्तै, सञ्चारकर्मी दिलभुषण पाठकले संग्रहमा समेटिएका केही कविता वाचन गर्दै ती कविताहरूले समयको कथा प्रस्टसँग उतारेको टिप्पणी गरे।
About
contact
Date Converter

