+
Side Bar Header Desktop Recovered

राष्ट्रिय टोलीबाट बिदा भए सन्दीप लामिछाने

Kyoto Khabar
Posted on 1 year ago

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा चर्चित लेग स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौताबाट यसपटक अलग हुने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले आफू राष्ट्रिय टोलीबाट औपचारिक रूपमा बिदा लिएको जानकारी दिएका हुन्। तर यो निर्णयलाई उनले क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत र व्यावसायिक रूपमा अघि बढ्न चाहिएको आवश्यक निर्णयको रूपमा व्याख्या गरेका छन्। “यो क्रिकेट वा मेरो राष्ट्रबाट टाढा हुने निर्णय होइन—यो परिवर्तन मेरो व्यक्तिगत र व्यावसायिक यात्रामा नयाँ मोड ल्याउने आशा गरिएको कदम हो,” सन्दीपले लेखेका छन्। उनले क्यानप्रति आभार व्यक्त गर्दै भनेका छन्, “नेपाल क्रिकेट संघले मेरो करिअरको विकासमा खेलेको भूमिकाको म कदर गर्छु।” साथै, उनले नेपालका लागि खेलिरहने अठोट दोहोर्‍याएका छन्। “नेपालका लागि म सधैं गर्वका साथ खेलिरहनेछु। त्यो उत्साह, गौरव र जिम्मेवारी सधैं मेरो हृदयमा रहनेछ,” सन्दीपको भनाइ छ। उनले थप लेखेका छन्, “जीवन परिवर्तनको यात्रा हो। अझ धेरै सिक्न, दिन र बन्न बाँकी छ। म भविष्यप्रति उत्साहित छु—क्रिकेटसँगै, र त्योभन्दा पर पनि।” उनको अनुसार, यो निर्णय टाढिने होइन, अझ गहिरो उद्देश्य र विकासतर्फ अघि बढ्ने प्रयास हो। “मेरो देशप्रतिको निष्ठा र खेलप्रतिको लगाव सधैं मेरो कार्यको केन्द्रमा रहनेछ,” उनले स्पष्ट पारे। “यात्रा जारी छ—नयाँ ऊर्जा र खुला मनका साथ,” भन्दै उनले समर्थकहरूलाई विश्वास र समर्थनका लागि धन्यवाद दिएका छन्।

प्रतिक्रिया

Bio