नयाँ वर्ष २०२६ तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दिवसको अवसरमा अनेसासले जापानको टोकियोमा कविता कन्सर्ट–३ आयोजना गर्ने भएको छ। अनेसास जापान च्याप्टरको आयोजनामा हुने यो साहित्यिक कार्यक्रम ११ जनवरी २०२६, आइतबार दिउँसो १ बजे सुरु हुनेछ।
कार्यक्रम ओकुबो स्टेसन नजिकै रहेको नेवा डायनिङ काठमाडौँ लञ्च एण्ड बारमा सम्पन्न हुनेछ। कार्यक्रममा डीजी शर्मा, सुबिन न्यौपाने कान्जिभाई, सविता भण्डारी, बलराम उपाध्याय र आदि पुरुषले कविता र साहित्यिक प्रस्तुति दिनेछन्।
नियमित साहित्यिक श्रृङ्खलाको ७९औँ संस्करणका रूपमा आयोजना हुने यस कन्सर्टले जापानमा रहेका नेपाली साहित्यप्रेमीलाई एकै थलोमा जोड्दै कविता, भाषा र भावनाको साझा उत्सव मनाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
अनेसास जापान च्याप्टरले यस्ता साहित्यिक कार्यक्रममार्फत प्रवासमा नेपाली भाषा र साहित्यको संरक्षण, प्रवर्द्धन र निरन्तरता दिँदै आएको छ।
About
contact
Date Converter

