+
Side Bar Header Desktop Recovered

टोकियो सप्ताह–२०२५ : दोस्रो दिनको भव्य महायज्ञ, २ करोडभन्दा बढी रकम संकलन

Kyoto Khabar
Posted on 6 months ago

टोकियो ,
जापानमा निर्माण हुन लागेको एकीकृत नेपाली घर र बहुसांस्कृतिक केन्द्रका लागि आर्थिक सहयोग जुटाउने अभियानअन्तर्गत सुरु भएको ‘टोकियो सप्ताह–२०२५’ को दोस्रो दिन पनि श्रद्धालुहरूको उल्लेखनीय उपस्थितिसहित कार्यक्रम सम्पन्न भएको छ।

एनआरएनए जापानको पहलमा र जापानस्थित विभिन्न नेपाली संघ–संस्थाको सहकार्यमा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञको दोस्रो दिन धार्मिक वातावरण अत्यन्तै सौम्य र आकर्षक बनेको थियो।

कार्यक्रममा पण्डित दिनबन्धु पोखरेल र बौद्ध गुरु टुल्कु तुलसी सोनाम गर्वाङ रिम्पोछे ले कथा वाचन गरी धर्म, करुणा र मानवीय मूल्यको सन्देश दिए। वैदिक विधिअनुसार पूजापाठ र कथा प्रारम्भ गरिएको थियो।

आयोजक समितिका अनुसार दोस्रो दिन मात्रै २ करोड ४९ लाख ४७ हजार ८ सय ३० येन सहयोग संकलन भएको छ। पहिलो दिन संकलन भएको ४० लाख ३४ हजार येन सहित हालसम्म करिब ३ करोड येन नजिक रकम संकलन भइसकेको छ।

यस अवसरमा एनआरएनए जापानका निवर्तमान अध्यक्ष नवीन न्युरे ले पनि ‘टोकियो सप्ताह–२०२५’ मा सहभागिता जनाउँदै, जापानमा बन्न लागेको एकीकृत नेपाली घर र बहुसांस्कृतिक केन्द्र निर्माणका लागि ¥२२,२२,२२२ (बाईस लाख, बाईस हजार, दुई सय बाईस येन) सहयोग प्रदान गर्नुभयो।

समुदायको आस्था, एकता र मातृभूमिप्रतिको उत्तरदायित्वको प्रतीकका रूपमा यो अभियानलाई सफल मानिएको छ।

कार्यक्रममा उपस्थित गुरुहरूले धर्मले मानिसलाई एकताको डोरमा बाँध्ने बताए र प्रवासमा रहँदा पनि नेपालीपन जोगाउन आग्रह गरे।

कान्तो क्षेत्रीय संयोजक दिपक सुबेदी ‘बिप्लव’ ले जापानमा यस्तो भव्य धार्मिक आयोजनाले नेपाली समुदायमा नयाँ ऊर्जा र एकताको सन्देश दिएको बताए। उनले सबैलाई मन, वचन र कर्मले सकेको सहयोग गर्न अपिल गरे।

आयोजक समितिले सबै सहयोगी, सहभागी र भक्तजनप्रति हार्दिक धन्यवाद दिँदै टोकियो सप्ताहलाई अझ प्रभावशाली र सफल बनाउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Bio