ओसाका, जापान ।
कास्की पोखरा समाज जापान (कान्साई) समितिद्वारा आयोजित तीज दर कार्यक्रम २०२५ अगस्ट १६ (शनिबार) का दिन जापानको ओसाकामा भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा ११० जनाभन्दा बढी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उपस्थितिले हल खचाखच भरिएको थियो। यस कार्यक्रममा समाजका संयोजक अग्नि त्रिपाठी को संयोजकत्वमा आयोजना गरिएको थियो।कार्यक्रम समाजका सचिव अभिनय आचार्यले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्यमार्फत समाजका कोषाध्यक्ष प्रकाश भण्डारीले स्वागत गरेका थिए।साथै महिला संयोजक अनिता त्रिपाठी र सल्लाहकार लोकबहादुर विश्वकर्माले हरितालिका तीजको शुभकामना दिएका थिए।
संयोजक त्रिपाठीले विदेशमा बस्दाबस्दै पनि नेपाली कला, संस्कृति र परम्पराप्रति देखाइएको माया र सम्मान नै समाजलाई निरन्तर सक्रिय राख्ने प्रेरणा भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार, “नेपालभन्दा टाढा भएर पनि हामी हाम्रो मौलिक संस्कृति जोगाउँदै र नयाँ पुस्तामा हस्तान्तरण गर्दै अगाडि बढिरहेका छौँ।”
कार्यक्रममा सहभागीहरूले पारम्परिक नाच–गान, रमाइलो भेटघाट र दरका परिकारहरूको स्वाद लिँदै तीज पर्वलाई उल्लासपूर्वक मनाए। महिलाहरूको सजिएको पोशाक, लोकगीतका धुन, सामूहिक नृत्य र रमाइलो माहोलले नेपालकै झल्को दिलाएको सहभागीहरूले बताएका छन्।
यस अवसरमा समाजले दान पेटिका समेत राखेको थियो। सो दान पेटिकाबाट जम्मा २७,००० येन संकलन भएको समितिले जानकारी दिएको छ। संकलित रकम नेपालमै हुने कुनै सामाजिक कार्यमा खर्च गर्ने निर्णय गरिएको संयोजक त्रिपाठीले जानकारी दिनुभयो। यसले मात्र नभई, जापानमा बस्ने नेपालीले नेपालको सामाजिक उत्थानप्रति देखाएको संवेदनशीलता पनि झल्काएको छ।
कार्यक्रमलाई पूर्ण रूपमा निःशुल्क राखिएको थियो, जसले गर्दा सबै समुदायका सदस्यहरूले बिना कुनै झन्झट सहज रूपमा सहभागिता जनाउन पाएका थिए।
समाजले विगतदेखि नै नेपाली समुदायलाई एकताबद्ध गर्ने, नेपाली कला–संस्कृतिलाई बचाइराख्ने र सामाजिक उत्तरदायित्वमा टेवा पुर्याउने उद्देश्यले विभिन्न गतिविधिहरू गर्दै आएको छ। यसपालिको तीज दर कार्यक्रम पनि त्यसैको निरन्तरता भएको संयोजक त्रिपाठीले बताउनुभयो।
निष्कर्षमा, कास्की पोखरा समाज जापान (कान्साई) को यस कार्यक्रमले जापानमा बस्ने नेपालीलाई आफ्नो संस्कृति, परम्परा र आपसी एकताको भावनामा नजिक ल्याउनुका साथै नेपालप्रति सामाजिक उत्तरदायित्व बहन गर्ने प्रेरणादायी कदम चालेको छ।
सह- सम्पादक जनक कंडेल
About
contact
Date Converter

