नेपाली चलचित्रमा लगानी गर्ने र जापानमा नेपाली सिनेमा प्रवर्धन गर्ने कार्यमा सक्रिय सुवास लामिछानेले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको २०२५–२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। “सुभास छ, सम्भव छ” भन्ने नाराका साथ उनले उम्मेदवारी घोषणा गरेका हुन्।
लामिछाने यसअघि पर्वत समाज जापानको उपाध्यक्षदेखि अध्यक्षसम्मको जिम्मेवारी सम्हालीसकेका छन्। एनआरएनए जापानमा उनले २०२१–२३ को कार्यकालमा प्रवक्ता र २०२३–२५ मा उपाध्यक्षको भूमिकामा रहँदै संगठनको विभिन्न गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
नेपालको कला, संस्कृति र चलचित्र क्षेत्रमा गहिरो रुचि राख्ने सुवास लामिछाने जापानमा रहेका नेपालीहरूको हकहित र नेपाल–जापान सम्बन्ध सुदृढ बनाउने आफ्नो लक्ष्य रहेको बताउँछन्। उनले विगतमा ‘नेपाल महोत्सव’, भूकम्प पीडित सहयोग, र पासपोर्ट शिविर जस्ता कार्यक्रमहरूमा नेतृत्वदायी भूमिका खेलेका थिए।
एनआरएनए जापानको ११औं महाधिवेशन यही जुलाई २० मा हुने तय भएको छ भने निर्वाचन जुलाई २७ तारिखका दिन हुनेछ। अध्यक्ष पदका लागि हालसम्म सुवास लामिछाने र सिद्धार्थ श्रेष्ठले उम्मेदवारी दिएका छन्।
लामिछानेले निर्वाचनमा विजयी भई जिम्मेवारी सम्हाल्न पाएमा संस्थागत सुधार, पारदर्शिता, र नेपाली समुदायका साझा चासोका विषयमा योजनाबद्धरूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
– सह- सम्पादक जनक कंडेल ( क्योतो खवर)
About
contact
Date Converter

