+
Side Bar Header Desktop Recovered

मौसमको चुनौतीका बाबजुद ओसाकामा सम्पन्न भयो भव्य ‘नेपाल महोत्सव २०२५’

Kyoto Khabar
Posted on 1 year ago

ओसाका, जापान – अविरल वर्षा र मौसमका विविध चुनौतीहरूका बाबजुद, गलकोट समाज कान्साईको आयोजनामा ‘नेपाल महोत्सव २०२५’ ओसाकामा भव्य रूपमा सम्पन्न भएको छ। नेपाली संस्कृति, कला, भोजन र समुदायको एकताको प्रदर्शन गर्ने उद्देश्यसहित आयोजना गरिएको यस महोत्सवमा जापानमा रहेका नेपालीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

कार्यक्रमका प्रमुख अतिथिको रूपमा जापानस्थित नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी सहभागी भए। उहाँले नेपाल र जापानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन यस्ता कार्यक्रमले ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले जापानमा बसोबास गरिरहेका नेपाली समुदायले नेपालको संस्कार, भाषा र पहिचान जगेर्ना गर्दै आएकोमा प्रशंसा गर्नुभयो।

महोत्सवमा विविध सांस्कृतिक प्रस्तुति, परम्परागत नृत्य, नेपाली संगीत, झाँकी तथा नेपाली खानाको स्वादिलो परिकारहरूको स्टलले सबैको मन जित्यो। सांस्कृतिक विविधता झल्काउने प्रस्तुतीहरूले कार्यक्रममा उत्सवमय वातावरण सिर्जना गरेका थिए।

कार्यक्रमको संचालन विनिशा सापकोटा, कुलबिर थापा र पुरुषोत्तम लामिछानेले गरेका थिए। उनीहरूको संयोजनले कार्यक्रमलाई थप आकर्षक र व्यवस्थित बनाएको सहभागीहरूले बताएका छन्।

नेपालबाट आएका कलाकारहरू बिष्णु खत्री, रामचन्द्र चन्द, अनिता चलाउने र ज्योति लोहनीले कार्यक्रमको शोभा बढाएका थिए। उनीहरूको प्रस्तुतिले दर्शकहरूलाई देशको माटोको सुगन्ध अनुभव गराएको थियो।

त्यस्तै, जापानमै रहेर नेपाली गीतहरूमा मिठास घोलेका स्थानीय कलाकारहरू काजल गुरुङ, केशब शर्मा, पार्बति भुजेल, दुर्गेश कार्की र रविन देवकोटाले समेत आकर्षक प्रस्तुति दिँदै दर्शकको मन जितेका थिए। उनीहरूको गायनले महोत्सवलाई थप रंगीन बनाएको थियो।

गलकोट समाज जापानका महासचिव दिलिप कडेलले भने, “मौसम प्रतिकूल भए तापनि जापानभरिबाट सहभागी सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको साथ, सहयोग र सक्रिय उपस्थितिले महोत्सवलाई सफल बनाएको छ। यस्ता कार्यक्रमले विदेशमा नेपाली समुदायबीच एकता, सहकार्य र आफ्नो मौलिक पहिचानको प्रवर्द्धन गर्न ठूलो टेवा पुर्‍याउँछ।”

आयोजक समितिले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै समुदायको एकता र नेपाली संस्कृति जगेर्नाका लागि सक्रिय रहिरहने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

Bio