नेपालको नवलपरासी जिल्लाको मध्यमविन्दु नगरपालिकामा बि.स २०५३ मा जन्मिएका कृष्ण भुसाल, अहिले जापानको ओसाका शहरमा बसेर व्यवसाय तथा सामाजिक सेवामा सक्रिय छन्। सामान्य परिवारमा हुर्किएका भुसालको जीवन यात्रा साधारण थिएन, तर उनी सधैं कर्ममा विश्वास राख्ने मान्छे थिए, जसले उनलाई आजको यो स्थानमा पुर्यायो।
सन् 2017 मा जापान आउँदा उनी केवल एक भाषा विद्यार्थी थिए। सुरुका दिनहरू सजिला थिएनन्। भाषा, संस्कृति र जीवनशैली फरक भएकाले अनगिन्ती चुनौतीहरू थिए, तर उनले ती सबैलाई आफ्नो लगनशीलता र मेहनतले जिते। जापान आएको एक वर्ष नपुग्दै उनले भाषा विद्यालयबाट दुई वर्षको स्कलरसिप प्राप्त गरे। त्यसपछि, विश्वविद्यालयमा उत्कृष्ट प्रदर्शन गर्दै जापानको प्रतिष्ठित रोटरी क्लब बाट २४ लाख येन बराबरको स्कलरसिप समेत हात पारे।
तर भुसालको पहिचान केवल एक सफल विद्यार्थी वा व्यवसायीमा मात्र सीमित छैन। उनी सामाजिक उत्तरदायित्वप्रति गम्भीर छन्। नेपाली विद्यार्थी समाज जापानको महासचिव (२०१९–२१) र त्यसपछि केन्द्रिय अध्यक्ष (२०२१–२३) हुँदै, उनी हाल NRNA जापानको शिक्षा एवम् विद्यार्थी मामिला विभाग का सदस्यका रूपमा कार्यरत छन्। यसबाहेक, उनी जापानको रोटरी क्लब लगायतका संघसंस्थासँग सहकार्य गर्दै नेपालको कला, संस्कृति र पहिचानलाई जापानी समाजमा चिनाउने निरन्तर प्रयास गरिरहेका छन्।
भुसाल जापानमा अध्ययनका लागि आउने नयाँ विद्यार्थीहरूका लागि मार्गदर्शक जस्तै छन्। उनले कलेज छनोट, छात्रवृत्ति, पार्ट-टाइम कामको खोजी लगायतका विषयमा नि:शुल्क परामर्श दिनु त सामान्य कुरा हो। उनी दिनहुँजसो अस्पताल वा सरकारी कार्यालयहरूमा भाषा नबुझ्ने नेपालीहरूको लागि स्वयं अनुवादकको भूमिका पनि निर्वाह गरिरहेका छन्।
त्यति मात्र होइन, कृष्ण भुसाल सरल स्वभाव, मिलनसार व्यक्तित्व र सहयोगी भावना भएका व्यक्ति हुन्। उनी पद वा प्रतिष्ठामा भन्दा पनि काम र कर्ममा विश्वास राख्छन्। यही सोचका साथ, उनी यसपटक NRNA जापानको केन्द्रिय सदस्य मा उम्मेदवार बन्ने समेत घोषणा गरेका छन् र नेपाली समुदायको सुख-दुःखमा समर्पित भावनाका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
उनको भनाइमा गहिरो विश्वास झल्किन्छ:
“पदले होइन, कामले पहिचान बनिन्छ। नेपालीको दुःखमा साथ दिन पाउनु नै मेरो सबैभन्दा ठूलो सफलता हो।”
कृष्ण भुसाल नेपाली समुदायका लागि प्रेरणाको स्रोत हुन्उनी जापानमा रहेका हजारौं नेपालीका आवाज र आशा हुन्। उनका लागि समर्थन गर्नु भनेको कर्मशील नेतृत्वमा विश्वास गर्नु हो।
About
contact
Date Converter

