रामेछापमा जन्मिएका सुजन कार्की संगीत क्षेत्रमा सक्रिय छन्। सांगीतिक क्षेत्रमा हालै औपचारिक रूपमा प्रवेश गरेका कार्की स्कुले जीवनमा नै गीत संगीत सुन्ने र गुन्गुनाउने गर्थे। तीनवटा गीत बजारमा ल्याइसकेका कार्की यही क्षेत्रमा भविष्य खोजिरहेका छन्। विशेषगरी र्याप संगीतमा उनको विशेष लगाव र रुचि छ।
सुजनले आफ्नो अनुभवलाई यसरी सुनाए :
मेरो नाम सुजन कार्की हो। मेरो घर रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका ४ बेतालीमा रहेको छ। मेरो बाल्यकाल बेतालीमै बितेको हो। यही रनबन चहार्दै बाल्यकाल व्यतीत गरेको हुँ।
मेरो पहिलो रेकर्ड भएको गीत “अधुरो माया” हो। यो २०८० चैत्रमा बजारमा आएको थियो। अधुरो माया गीतमार्फत नै मैले साङ्गीतिक यात्रालाई एउटा गतिमा अगाडि बढाउन पाए। अधुरो माया बोलको गीतमा मेरो र युवराज कार्कीको शब्द, सङ्गीत र स्वर रहेको छ। बिना राउत र मैले अभिनय गरेका छौँ। यस गीतलाई दर्शकहरूले दिनुभएको माया र हौसलाले म उत्साहित भएको छु। पहिलो गीतमा नै दर्शकबाट पाएको हौसलाले मलाई अगाडि बढ्न सहयोग पुर्याएको छ।
मेरो दोस्रो गीत “फुच्ची” हो। अहिले तेस्रो गीत “किन” लिएर दर्शक स्रोतामाझ आएको छु।
गीतमा जीवनको वास्तविक भोगाइ र समाजमा देखिने कुराहरूलाई पनि समेट्ने कोसिस गरेको छु। आशा छ, यस गीतलाई पनि दर्शक स्रोताले माया गरिदिनु हुनेछ। पहिला जस्तै हौसला र प्रेरणा पाउनेछु।
साङ्गीतिक यात्रामा होस् या जीवनमा उतारचढाव त पक्कै पनि आउँछन्। सङ्घर्षलाई छोड्नु हुँदैन भन्ने बुझेको छु। तर धैर्य अनि निरन्तर प्रयास चाहिँ हुनुपर्छ। एकदिन त पक्कै पनि सफल भइन्छ भन्ने धारणा लिएर हिडेको छु।
जीवनमा सफल असफल हुनु त अर्को फरक पाटो हो। तर एउटा गायकको नाताले र्याप गीत गाउन र लेख्नमै आनन्द लाग्छ। राम्रो र्याप लेख्न पाउँदा खुशीले फुरुक्क हुन्छु। आउने दिनहरूमा यो भन्दा अझ राम्रा राम्रा गीतहरू लिएर आउनेछु।
मैले भर्खरै बजारमा ल्याएको गीत “किन” लाई धेरैले मन पराइरहनु भएको छ। यस गीतमा खासगरी माया प्रेममा धोका पाएपछिको स्थितिलाई उजागर गरिएको छ। धोका पाएको युवाले आफ्नो प्रियसीलाई बारम्बार सम्झिएको हुन्छ। त्यही भावनालाई समेटिएको स्टोरी हो यो गीत र यस गीतको म्युजिक भिडियो।
यस गीतको एरेन्ज चर्चित एरेन्जर के-पासले गर्नुभएको हो। दर्शक अहिलेसम्म भरपुर माया र सकारात्मक कमेन्ट आउनु राम्रो काम नै हो भन्ने महसुस भएको छ। अझै माया पाउने अपेक्षा राखेको छु। अब आउने दिनहरूमा पनि पक्कै पनि धेरैभन्दा धेरै मेहनत गरेर दर्शकमाझ आउनेछु। गुणस्तरीय गीतहरू तपाईंहरू माझ पस्किनेछु। संगीत मेरो लागि जीवनको उर्जा हो।
About
contact
Date Converter

