+
Side Bar Header Desktop Recovered

नेपालीकी दिदी अर्थात् ‘सविना दिदी’

Kyoto Khabar
Posted on 2 years ago

सविना दिदी । हो, हामी सबैकी सविना दिदी, जो आफ्नो माटो र जन्मेको प्रिय भूमिबाट निकै–निकै टाढा छिन् । तर, उनी जन्मभूमिको सुगन्धबाट कहिल्यै टाढा छैनन् । शरीर छ जापानमा, मन छ नेपालमा । जतै भए पनि ‘यो मन त मेरो नेपाली हो’ को भावले सायद उनलाई सधैं–सधैं सत्कर्मको न्यायो गोरेटो हिँड्न प्रेरित गरिरहन्छ ।
काठमाडौंमा जन्मेकी, काभ्रेमा हुर्केकी  सविना, सविना बस्नेत केवल आफ्ना लागि बाँच्दिनन्, अरूकै लागि समर्पित छिन् । जीवनमा हिँडिआएका अँध्यारा–उज्याला गल्ली र फराकिला सडकको आँखिझ्यालबाट चियाउँदा उनी देख्छिन्– जीवन सरल रेखामा मात्रै बग्दैन, त्यहाँ छ तनाव, दुःख, पीडा र हण्डरका असरल्ल कथा–कहानी । अहिले जीवनका अनेकन् अनुभवहरूको भिडमा उभिएकी छिन् उनी, जो समयको पदचापमा सम्झिरहन्छिन्– नेपाल र नेपाली माटो । नेपाल, नेपाली भाषा र नेपालीप्रति उनको प्रेम जापानमा आएर झन् जब्बर हुँदैछ ।
आफ्नो गाउँका कमला साँझ, सलल बगिरहने रोसीको सम्झना आँखाका बार्दलीमै बसेका छन् सविना दिदीका । छन त जापानमा विशाल महासागर छ, तर प्रिय छ– सानो रोसी । र, मनभरि संगालेकी छिन् उनले त्यसको सम्झना । घाम अस्ताउने बेला सूर्यको रातो प्रतिबिम्ब रोसीमा परेको यादले उनलाई फेरी–फेरी आफ्नो जन्मस्थान काभ्रेमा पुर्याउछ । जापानमा नेपालीको संवेदनाले भिजेकी छिन् उनी । कहिलेकाहीँ अत्यासलाग्दो, निस्सासिँदो लाग्छ विदेश अनि विरानो पनि । त्यही विरानो सहरमा नेपालीका आफन्त बनेकी छिन् उनी । सहरीया सम्भ्रान्त धनी हुने दौडमा दौडेका छन्, संवेदनाशून्य बन्दै गइरहेका छन् । यस्तो बेला मानवीय संवेदना बोकेर हिँड्नु सविना दिदीको जीवन–बाटो भएको छ ।

आज सविना दिदी कुनै कम्पनिको  कान्साई क्षेत्रको सव–म्यानेजर छिन्।  १ हजारभन्दा बढी नेपालीसहित जापानीज र अन्य देशका कर्मचारी उनको नेतृत्वमा कार्यरत छन् । उनी हरदिन संघर्षरत नेपालीहरूको सहारा बन्ने प्रयास गरिरहेकी छिन् । संघर्ष गर्नु र नेपालीलाई असल बाटो देखाउनु उनको जापानी–दैनिकी हो । र, हो त्यो जीवनको अमूल्य हिस्सा । 

 

आज सविना दिदी कुनै कम्पनिको  कान्साई क्षेत्रको सव–म्यानेजर छिन्।  १ हजारभन्दा बढी नेपालीसहित जापानीज र अन्य देशका कर्मचारी उनको नेतृत्वमा कार्यरत छन् । उनी हरदिन संघर्षरत नेपालीहरूको सहारा बन्ने प्रयास गरिरहेकी छिन् । संघर्ष गर्नु र नेपालीलाई असल बाटो देखाउनु उनको जापानी–दैनिकी हो । र, हो त्यो जीवनको अमूल्य हिस्सा ।
जापानमा बसिरहेका नेपाली समुदायका मानिसको पीडामा मल्हम लगाउन उनी जुनैबेला तत्पर हुन्छिन् । मानौं दुखिरहेका नेपाली उनका दाजु–भाइ वा दिदी बहिनी हुन् । त्यसैले सविना दिदी केवल नाम होइन, एउटा पहिचान र नेपालीकी सहारा हुन् । मुहारको मन्द मुस्कान, कमलो भाव, उर्जा र प्रमिल भावना– यो नै सविना दिदीको असली पहिचान हो । त्यसैले आज उनी बनेकी छिन् जापानका नेपालीका ‘सविना दिदि’ ।भन्छिन्, ‘सफलता केवल आफ्नो जीवन उज्यालो बनाउनु होइन, अरूको जीवनमा पनि आशाको किरण बाँड्नु हो ।’ उनले जीवनको ‘सत्य’ यहि समर्पणलाई बनाएकी छन्, जसले सानै छँदादेखि आफूलाई फरक पहिचानमा उभ्याउन चाहिन् ।

जीवनमा भएका सबैखाले परिवर्तन नजिकबाटै अनुभूत गरिन् उनले– विचारको परिर्वतन, सामाजिक परिवर्तन । सबै परिर्वतनका साक्षी भए, उनका चम्किला आँखा ।पढाइमा औसत थिइन् उनी, तर अतिरिक्त क्रियाकलापमा असाध्यै अब्बल । किशोरवयमै कविता लेख्थिन्, वाद–विवाद, वक्तृत्व–कलामा अब्बलता प्रदर्शन गर्थिन् । भन्छन् नि बुढापाका ‘हुने बिरुवाको चिल्लो पात’ । हो, त्यस्तै थिइन् उनी– एक चिल्लो पात, जसले बुझिन्– बाल्यकालमै परिश्रम र स्वाभिमानको महत्व ।

साथिसँगिको जिद्दिमा  लागेर मिस काभ्रेको उपाधि पनि जितीन् उनले । हो, त्यसपछि त उनको आत्मविश्वास–यात्रा फराकिलो हुँदै गयो । सविना दिदिले पत्रकारिता गरिन्, भुँइमान्छेका कथा लेखिन् । तिनका सारथी बनिन् । अनि आफ्नो क्षमताको नयाँ आयाम बनाउँदै गइन् ।
पत्रकारिता गरेको केही समयपछि उनको जीवनको बाटो मोडियो । र, त्यो बाटो थियो– परदेशतर्फको । परदेशको विरानो बाटो हिँडिन् उनी । त्यो बाटो हिँड्न साथीहरूको लहैलहै पनि एक थियो । र, यसरी उनी परदेश पुगिन् । यदि जीवनका बाटाहरु लहैलहैले पनि निर्माण गर्छ भने र त्यो कहिलेकाही राम्रै हुन्छ भने त्यसको शानदार उदाहरण हुन् सविना दिदि ।
जापानी भाषा सिक्ने बहाना साथीहरूले दिए । तर, सुरुवातकालीन दिनमा त्यो भाषा–कथाले जापान जाने पखेंटा हालेको थिएन, तर त्यो सोचले चराजस्तै उडाएर जापान पुर्यायो  । खै बाटाहरू कसरी तय भए ? उनलाई थाहै भएन । उनलाई आफ्नो सपनाको मूल्य बुझ्न निकै समय लाग्यो । संघर्षले जीवन सिकाउँछ भन्ने उनले संघर्षको आरनमा खारिएरै थाहा पाइन् । भाषामा पास हुनु र जापान जाने चाहना बन्नुले उनलाई जीवनको फरक बाटो हिँडायो ।

उतिबेला परिस्थिति कहाँ सहज थियो र ? ‘छोरी भएर विदेश जानुहुन्न, छोरीहरूले कमाउन सक्दैनन्’ सोच्थे मान्छेहरू । फेरि थियो परिवारको कडा असहमति पनि । र, सँगै थियो– समाजको दबाब, आर्थिक चुनौती । ती सबैका बाबजुद उनले आफ्नो अडान र दृढता कायम राखिन् । र, अन्ततः सबै बाधा पन्छाइन् । अनि आफ्नो सपना फूल्ने मुकाम जापान पुगिन् सविना दिदी ।
जापान पुग्नुअघि उनले सायदै कल्पना गरेकी थिइन्– जीवन जटिल छ । तर, जापानका अनेकन् भोगाइले भने– जीवन साँच्चै जटिल रहेछ । त्यसपछि उनले नेपालीका जटिल जीवन सुधार्ने काममा आफूलाई समर्पित गरिन् । त्यो यात्रा–कथाले उनको जीवन मात्रै बदलेन, अरू कैयौंको जीवनमा उज्यालो बत्ती दियो । सपना र मेहनतको फल मीठो हुन्छ, जुन सत्य हो । त्यो सत्य अहिले महसुस गर्दै छिन् उनी ।
जापानमा उनले आफ्नो पढाइ निरन्तर गरिन् । गाक्को र दाइगाकुमा अध्ययन गरिन् । अध्ययनसँगै दाइवा हाउस कम्पनीमा काम थालिन् । कडा मेहनत गर्दै, समयको महत्व बोध गर्दै–बुझ्दै आफ्नो कार्य–दक्षताले उनी जापानको प्रतिष्ठित कम्पनीमा पुग्न सफल भईन ।

परदेश, विशेष गरी जापानजस्तो व्यस्त ठाउँमा बिताएको समय, अवसर र चुनौतीले भरिएको हुन्छ। यहाँको आधुनिक जीवनशैलीले कहिले रोमाञ्चित गर्छ, त कहिले मन भारी बनाउँछ। बाल्यकालदेखि सँगै सपना देखेका साथीसँग परदेशमा बिताएको समय अविस्मरणीय भए पनि सम्बन्धमा आउने चिसोपन भने गहिरो पीडा दिन्छ।

दिदिले आँखाभरि सम्झना बुन्दै भन्नुभएको थियो  “हामी एउटै धागोमा बाँधिएका दुई चङ्गाजस्तै थियौं। सँगै जापान आई हावामा उड्ने सपना देख्यौं।” तर समय र परिस्थितिले धागो टुट्यो। सोच र बानी नमिलेपछि, नजिकको सम्बन्धमा पनि दरार आउँछ। अध्ययन, काम र जिम्मेवारीको चापले परदेशी विद्यार्थी जीवनलाई जटिल बनाउँने रहेछ।परदेशमा साथीहरूसँगको सम्बन्ध जोगाउनु भनेको गहिरो धैर्यता र बुझाइको अभ्यास हो। यद्यपि, प्रायः यहाँ सम्बन्ध टुट्नु असामान्य होइन। समयसँगै सोच, प्राथमिकता, र परिस्थितिहरू बदलिँदा, नजिकका मित्र पनि पराइझैं हुने रहेछन् ।

तर यो जीवनको यथार्थ हो। परदेशी यात्राले मानिसलाई संघर्ष र सम्बन्धको मूल्य सिकाउँछ। यो सत्य नकार्न सकिन्न कि यसले कहिलेकाहीँ मन भारी बनाउँछ। तर, यही पीडाले मानिसलाई परिपक्व बनाउने पाठ पनि दिन्छ।जापान बसाइले संघर्ष र सम्बन्धको परीक्षा लिए पनि यसले साहस र धैर्यतामा दृढ बनाउन मद्दत गर्दछ। यो केवल व्यक्तिगत होइन, परदेशमा बस्ने धेरैको साझा अनुभूति हो। यो यात्राले सम्बन्धको नाजुकता र जीवनको गहिराइ बुझ्न सिकाउँछ। सायद यसकै उपज होला नेपाल देखिकै मिल्ने साथिको साथ छैन अहिले ।

नेपालबाट चर्को ऋण गरेर जापान आउने धेरै नेपाली प्रारम्भिक चरणमै कामको अभावमा निराश हुन्छन् । यस्तो अवस्थामा तिनको सेवामा हाजिर हुन्छिन् सविना दिदी । उनी नेपालीलाई रोजगारीको वातावरण बनाइदिन मात्र होइन, आफ्नो पखेंटामुनि राखेर आत्मबल जगाउन पनि प्ररित गरिरहन्छिन् । लाग्छ, प्रेरणपुञ्ज हुन् उनी ।
‘मेरो सपना मात्रै पुरा भएन, अरूका सपनामा पनि म सहयात्री बन्न पाउँदा गर्व लाग्छ’, उनी भन्छिन् । उनीसँग काम गर्ने नेपालीहरूले उनलाई आदरपूर्वक ‘दिदि’ सम्बोधन गर्दा खुसीले पुलकित हुन्छिन् । कसैले आदर भावले ‘सविना दिदी’ भन्नूले उनको आत्मविश्वास अझै बढ्छ ।
सविनाको जीवन–यात्रा केवल व्यक्तिगत उपलब्धिको कथा होइन, सहृदयता र नेतृत्वको एक ज्वलन्त उदाहरण पनि हो । हो, दिदिले जापानजस्तो प्रतिस्पर्धात्मक देशमा आफ्नो सग्लो पहिचान मात्रै बनाईनन्, संघर्षरत नेपालीलाई नयाँ बाटो पनि देखाइन् । भविष्यमा सहि बाटो देखाउनेहरुको सम्मान अवश्य हुनेछ नै ।
सविना दिदिको नामै काफी छ नेपालीलाई । जसको प्रिय नामले क्योतो, ओसाकाका नेपाली समुदायमा एउटा भरोसा र गर्वको भाव–अनुभूति गराउँछ । असलमा सविना बस्नेतको कथा हरेक नेपाली युवाका लागि एक प्रेरणादायी आख्यान बनेको छ ।
उनी जीवनलाई आफ्नो सफलतामा मात्रै सीमित हुन दिन्नन् । लाग्छ, उनी एक दियो हुन्, जो निरन्तर बलिरहन्छिन् । र, जो बल्छिन्– धेरैका लागि प्रेरणा र सहाराको खातिर । अनि त्यो नै हो– जीवनको असल राजमार्ग पनि । संसारको जुनै कुनामा पुगे पनि नेपालीको पहिचान उच्च राख्न उनीजस्ता व्यक्तित्वको असरदार भूमिका अमूल्य छ ।
‘यो मन त मेरो नेपाली हो’ को भावमा चम्किरहनु सविना दिदी । हिँडिरहनु सत्मार्ग । हाम्री दिदीलाई शुभकामना ।

प्रतिक्रिया

Bio