+
Side Bar Header Desktop Recovered

टोकियोमा नोभेम्बर ८ देखि १५ तारिखसम्म ‘टोकियो सप्ताह’ ज्ञान महायज्ञ हुँदै

Kyoto Khabar
Posted on 4 months ago

 

टोकियो । जापानमा “एकीकृत नेपाली घर : बहुसांस्कृतिक केन्द्र” निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले सप्ताहव्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गरिने भएको छ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा र जापानमा रहेका विभिन्न सामाजिक संघ–संस्थाहरूको सहकार्यमा उक्त महायज्ञ आगामी नोभेम्बर ८ देखि १५ तारिखसम्म टोकियोको शिन्जुकु क्षेत्रमा हुने भएको हो।

एनआरएनए जापानका उपाध्यक्ष मुक्तिराम खनालले ओसाकामा आयोजित पासपोर्ट घुम्ती सेवा कार्यक्रममा जानकारी दिँदै भने,

“हाम्रो उद्देश्य केवल धार्मिक कार्यक्रम मार्फ़त , जापानमा रहेका नेपालीहरूबीच आपसी एकता, भाइचारा र पुस्ताबीचको सम्बन्ध अझ प्रगाढ बनाउनु हो। यस महायज्ञमार्फत हामी आध्यात्मिक सोच र सकारात्मक ऊर्जा साटासाट गर्न चाहन्छौं।”

खनालले जापानवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई महायज्ञमा उपस्थित भई पारिवारिक र सांस्कृतिक एकताको सन्देश फैलाउन अनुरोध पनि गरे।

नेपालबाट वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल र महान बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछे विशेष अतिथिको रूपमा जापान आउने निश्चित भइसकेको छ।

वाचन प्रवीण पोखरेलका अनुसार,

“नेपालको कला, संस्कृति र आध्यात्मिक दर्शनलाई जापानमा प्रवर्द्धन गर्दै मिनी नेपाल निर्माण गर्ने पवित्र उद्देश्यका साथ टोकियो सप्ताहमा सबै नेपालीहरूको सहभागिता अपेक्षित छ।”

त्यसैगरी, बौद्ध धर्मगुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले भने,

“सामाजिक सद्भाव र आत्मीय सम्बन्ध सुदृढ गर्न यो टोकियो सप्ताह महायज्ञ एक ऐतिहासिक अवसर हुनेछ। यस पवित्र अभियानमा सबै नेपालीहरूको उपस्थितिले यसको अर्थ अझ गहिरो बन्नेछ।”

महायज्ञलाई व्यवस्थित, मर्यादित र अनुशासित ढंगले सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरू गठन गरी तयारीलाई तीव्र पारिएको आयोजक समितिले जनाएको छ। साथै, जापानका सरोकारवाला निकायहरूसँग आवश्यक इजाजत र पूर्वानुमतिको प्रक्रिया पनि जारी रहेको जानकारी दिइएको छ।

प्रतिक्रिया

Bio