+
Side Bar Header Desktop Recovered

रिजाल रमेश: संघर्ष, सफलता र समाजसेवाको प्रेरक कथा

Kyoto Khabar
Posted on 9 months ago

रिजाल रमेशको जन्म १५ जुलाई १९९० मा भारतको अरुणाचल प्रदेशमा भयो । दुर्गम गाउँमा हुर्किएको रमेशको जीवन निकै कठिन परिस्थितिबाट गुज्रियो। उनी बसेको ठाउँमा हस्पिटल पुग्न एक दिन लाग्थ्यो, स्कुल जान ठूला खोला र घना जंगल पार गर्नुपर्थ्यो, जहाँ बाघ र भालुको डर सधैं रहन्थ्यो। यही चुनौतीपूर्ण वातावरणमा हुर्किएर, उनले संघर्ष र आत्मनिर्भरताको पाठ सिके।

सन् २०१५ मा, रमेश जापान आएर योकोहामाको इशिकावाको Asian International Japanese Language School मा जापानी भाषा अध्ययन गर्न थाले। चार भाषामा दक्ष (नेपाली, हिन्दि ,अंग्रेजी र जापानी) रमेशले आफ्नो भाषिक क्षमताको उपयोग गर्दै काम र पढाइलाई सन्तुलनमा राख्न सफल भए। langauge school सकेर २०१७ मा सेनमोन कलेज जादा परिवार पनी ल्याउन मिल्ने कुरा थाहा पाएर उनले आफ्नो श्रिमती पनी dependent भिजामा बोलाएर संगै बस्न थाले हाल उनको जापान मै जन्मिएको ४ वर्षको छोरा पनी छ !

रमेशले जापानमा नेपाली समुदायको समस्या समाधान गर्न आफूलाई समर्पित गरेका छन्। नयाँ आउने नेपालीहरूलाई काम खोज्न सहयोग गर्ने, वडा कार्यालयको काममा सघाउने, र विभिन्न सामाजिक कार्यहरूमा सहभागी हुने उनको बानीले उनलाई जापान नेपाली समुदायमा अत्यन्त लोकप्रिय बनाएको छ।

जापानमा रहेका नेपालीहरूले उनलाई राष्ट्रिय समन्वय परिषद (NRNA) भन्दा बढी विश्वास गर्ने गरेका छन्। खासगरी, रमेशले नयाँ विद्यार्थी र कामदारहरूलाई गलत निर्णय नलिन सचेत गराउँदै सही दिशा निर्देशन दिन महत्वपूर्ण भूमिका खेलेका छन्।

हालै, नेपाली समुदायका सन्देश बुढाथोकीको असामयिक निधनको बेलामा रमेशले परिवारलाई आवश्यक सहयोग पुर्याए। यस घटनाले उनी केवल एक समाजसेवी मात्र नभई, दुःखमा साथ दिन सक्ने आदर्श व्यक्तित्व भएको प्रमाणित गर्‍यो।यस्तै अरु पनि थुप्रै घटनामा उनले सकारात्मक भुमिका खेले ।

क्योटो खबरसँगको कुराकानीमा रमेशले आफ्नो बाल्यकालदेखि अहिलेको सफलतासम्मको यात्रा बारे खुलेर भने:

१.बाल्यकाल कस्तो थियो, र अहिलेको सफलता कस्तो महसुस हुन्छ?
-“म दुर्गम गाउँमा हुर्किएँ, जहाँ स्कुल जान जंगल र खोला पार गर्नुपर्थ्यो। त्यो संघर्षले मलाई साहसी र आत्मनिर्भर बनायो। अहिले जापानजस्तो देशमा पढेर, एउटा ठुलो जापानीज कम्पनीमा काम गर्दै, म सधैं यही सोच्छु—केही असम्भव छैन।”

२.नेपाली समुदायका लागि तपाईंको मुख्य योगदान के हुनेछ?
“म आफैंले भोगेका अनुभव बाँड्न चाहन्छु, ताकि अरूले मेरा गल्ती दोहोर्याउन नपरोस्। कामको लागि यहाँ आएका नेपाली दाजुभाइबहिनीहरूलाई सही दिशा दिनु, हो हल्ला भन्दा यथार्थ बुझ्न प्रेरित गर्नु मेरो मुख्य उद्देश्य हो।”

.नयाँ आएका भाईबैनि हरुलाई तपाईको ब्यक्तिगत सुझाब के छ?
“मेरो सल्लाह के छ भने जापानमा काम नपाउने वा अवसर नपाउने भन्ने कुरा कहिलै हुदैन। तर, मुख्य समस्या भनेको आफ्नै हिम्मत नपुग्नुमा छ। कतिपयले अरूको कुरा सुनेर, ‘त्यो काम गाह्रो छ’ भनेर भनेको कुरा सुनेर इन्टरभ्यूसमेत जान्न मान्दैनन्। त्यस्तै, ‘यो काम सजिलो छ’, ‘फलानो यस्तो छ’, ‘फलानो कलेज यस्तो छ’ भनेर हल्लामा हिँडिरहेका हुन्छन्। जब सम्म सहि के गलत के बुझ्न र नियमको पालना गर्न सकिदैन तब सम्म दुख पाई रहिन्छ जापानमा !

कतिपयले कलेजमा सुत्न दिएन भनेर त्यो कलेज खराब भनेर हल्ला गर्ने, कलेजले पढ्न कडा अनुशासन माग्यो भने त्यसलाई नकारात्मक रूपमा लिने पनि देखिन्छ। कलेजका सेनसेई ( टिचर) र व्यवस्थापनले कडा परिश्रम गर्न प्रेरित गरे भने त्यसलाई ब्ल्याकलिस्ट भन्नेसम्म सुनिन्छ। तर, वास्तविकता के हो भने कलेजहरूले विद्यार्थीलाई भविष्यका लागि तयार बनाउन गाह्रो परिस्थितिको सामना गर्न सिकाउने हुन्।

त्यसैले, जापानमा आएको व्यक्तिले आफ्नो सिकाइप्रति रुचि राख्नुपर्छ। भाषा राम्रोसँग पढ्न, बोल्न र लेख्न प्रयास नगर्ने, अनि अरूले प्रोत्साहन गर्दा जिस्क्याएर गम्भीर नलिने प्रवृत्तिले आफूलाई कमजोर बनाउँछ। आफैँलाई कमजोर छु भनेर सोच्ने र अगाडि बढ्न कोसिस नगर्दा सधैँ पछाडि परिन्छ।

जापानमा हरेक ठाउँमा शून्यबाट सिकाउन तयार हुने वातावरण छ। यदि कोही हजारौं पटक पनि गल्ती गर्छ भने पनि यहाँका मानिसले सुधार्न सहयोग गर्छन्। यदि तपाईंसँग भाषा राम्रो छ, बोल्न र पढ्न राम्रोसँग आउँछ भने, कसैले पनि ‘दुःख पाएँ’ भनेर भन्नु पर्दैन।

तर, नेपालबाट आउने धेरैजसोले ‘मेरो साथी छ’, ‘मेरो फलानो छ’ भनेर राम्रोसँग भाषा नपढी आउँछन्। यहाँ आएपछि अरूबाट सहयोग नपाउँदा हरेस खान्छन् र आफैँलाई कमजोर महसुस गर्छन्। यसले गर्दा उनीहरूले आफ्नो मनोबल गुमाउँछन्।

जापानमा यदि मेहनत गर्ने हो, समय र नियम पालना गर्ने हो भने कुनै पनि कुराको तनाव लिनु पर्दैन। यहाँ अवसरहरू धेरै छन्, तर ती अवसरहरू समात्ने योग्य मानिसहरूको कमी धेरै छ। त्यसैले, आफ्नो मानसिकता सकारात्मक राख्नुपर्छ, मेहनत गर्नुपर्छ, र आफूलाई सुधार्न निरन्तर प्रयास गर्नुपर्छ। यही सोच र व्यवहारले तपाईंलाई यहाँ सफल बनाउँछ।”

 

४.विदेशमा बसिरहँदा गाउँको याद आउँदैन?
-“गाउँको याद त सधैं आउँछ। जहाँ मैले बाघ-भालु आउने जंगल पार गरेर स्कुल जानु पर्‍थ्यो, ठूला खोला तर्नुपर्थ्यो, त्यो संघर्षले नै मलाई आज यहाँसम्म ल्याएको हो। अहिले विदेशमा भए पनि गाउँको माटो, त्यहाँका मान्छे, र बाल्यकालका सम्झनाहरू सधैं मनमा बस्छन्। सफलता प्राप्त गरेपछि पनि आफ्नो जडलाई कहिल्यै भुल्न सकिँदैन। गाउँकै प्रेरणाले मलाई अगाडि बढ्न र अरूलाई सहयोग गर्न हौसला दिएको छ।”

५.”तपाईंलाई एक जमातले ‘भाइरल ब्वाइ’ भन्छन् नि, हैन?”

“मलाई कतिपयले ‘भाइरल ब्वाइ’ भन्छन्, तर मलाई यो सुन्दा हास उठ्छ। मेरो जीवनका अनुभव र मैले गरेका कामहरू भाइरल बन्ने उद्देश्यले कहिल्यै गरिएका थिएनन्।

बच्चैदेखि सहयोगि भावनाको थिए । जापान आएर धेरै लाई सहयोग गर्दै जादा अब धेरै वर्ष हिड्न कठिन छ मुटुमा प्वाल परेको छ अप्रेसन गर्नु पर्छ भनेर एकजना विध्यार्थीलाई कलेज ले समेत सहयोग नगरेको खन्डमा मैले हरेक पल्ट ट्रेनभाडा हालेर आफ्नो काम छाडेर हस्पिटल जाने आउने गरेर अन्तयमा बिरामीको सहि उपचार भयो निको हुनु भयो आज वाहाको स्वास्थय धेरै राम्रो छ र अर्को सानै बाट निमोनिया बिग्रेको (TB) को संकेत देख्एपछी अब म बाच्दिन मेरो रिन मेरो परिवार मलाई कलेज बाट पनी निकाल्छ भनेर मेरो अगाडी १ घन्टा रोएको देखेर मेरो मन मानेन र मैले त्यहा पनी केही हुदैन म छु कुनै पनी टेनसन लिनु पर्दैन केही हुदैन घर जानु मेरो छुट्टी मिलाएर हस्पिटल जानु पर्छ भनेर त्यहा पनी २/३ महिना को समय दिएर सामान्य अवस्थामा ल्याईयो र निको भयो त्यस्तै ट्युमर लागेको जस्ता रोग हरुको समस्याहरू सामना गर्नु परेको थियो तर मैले पहिला पनी भने सहयोग गर्ने क्रममा नया पुराना जात धर्म कुन संथा कुर पार्टी केही हेर्दिन न त मलाई यो सबै मन नै पर्छ बस म मेरो देश नेपाल र नेपाली हो भनेर चिन्छु र जुन सुकै देसको लाई पनी सहयोग पुर्याएको छु । ती संघर्षहरूले मलाई अरूको पीडा बुझ्न र सहयोग गर्न सिकायो। जापानमा आएपछि मैले धेरै मानिसहरूलाई सहयोग गरें—कसैलाई कम्पनी सम्म यसरि ट्रेन चडेर जाने यसरि टिकट काट्ने यसरि फर्म भरेर यहा यो लेखेर यसरि फोटो टास्ने देखि बैक खाता खोल्दिने देखि सानो भन्दा सानो काम जुन नयाका लागी धेरै महत्वपुर्ण हुन जान्छ त्यो सबै मैले व्यक्तिगत खर्चमा सहयोग गरे तर कतिपय ठाउमा यही काम गर्दिएको एक नेपाली ले अर्को नेपाली लाई १०/२० हजार माथी एन लिएको पनी कुरा हरु म संग आएको थियो ।

मसँग यस्ता घटनाहरूको लामो सूची छ। गाक्कोले घर पठाएको विद्यार्थीलाई १२ घण्टामै अर्को गाक्को खोजेर जापानमै राखेको छु। मृत्युको मुखमा रहेको व्यक्तिलाई उद्दार गरेर म छु भनेर साहस दिलाएको छु। नेपाल फर्किन एयरपोर्ट पुगेकाहरूलाई नयाँ कलेज खोजेर भिसा थपिदिएको छु। यस्तो सहयोग गर्दा मैले कहिल्यै कसैसँग पैसा लिएको छैन, बरु भोकै होला भनेर पेटभरि खाना खुवाएर पठाएको छु।

तर, म सबैलाई सधैं सन्तुष्ट पार्न सक्छु भन्ने दाबी गर्दिनँ। मैले सहयोग गर्न नसक्ने कतिपय व्यक्तिहरू पछि गएर आवेगमा आएर ‘त्यो मेरो लागि के गर्दिएको छ र?’ भन्ने कुरा गर्छन्। जापानमा नकारात्मक सोच राख्ने, अरूको खेदो खन्ने, र गलत प्रचार गर्ने धेरैजना छन्। त्यस्ता व्यक्तिहरू मेरो ब्ल्याकलिस्टमा परेका छन्।

तर, यदि कसैले मेरो गल्ती औंल्याउँछन् भने, म त्यसलाई सुधार गर्न पूर्ण रूपमा तयार छु। म सिक्दै र सुधार गर्दै अघि बढ्ने मान्यता राख्छु। तर, गलत प्रचार गर्नेहरूसँग जुध्ने होइन, म उनीहरूबाट टाढा रहन्छु।

मलाई ‘भाइरल ब्वाइ’ नभएर एक साथी, सहयोगी, र संकटमा सहारा दिने व्यक्ति भनेर बुझ्नुस्। यो काम कुनै प्रचारका लागि होइन, मानवता र माया बाँड्नका लागि हो। समाजसेवाको नाममा केही दिन राम्रो देखिनु मात्र मेरो उद्देश्य हैन; मैले जिन्दगीभर सक्ने सहयोग गर्न चाहन्छु।”

.तपाईंको आगामी योजना के छन्?
“म नेपाली समुदायका लागि अझै धेरै गर्न चाहन्छु। मुख्यत: यहाँ आएका नेपाली विद्यार्थी र कामदारहरूले आफ्नो क्षमता अनुसारको अवसर नखोसुन् भनेर उनीहरूलाई सही जानकारी दिन चाहन्छु। साथै, मेरो व्यक्तिगत अनुभवबाट सबैलाई प्रेरित गर्दै सहि बाटो देखाउनु नै मेरो लक्ष्य हो।”

रिजाल रमेशको यो संघर्षमय जीवन र समाजसेवाको कामले उनी नेपाली समुदायका लागि एक प्रेरणादायक व्यक्तित्व बनेका छन्। उनी भन्छन्, “सपना ठूलो राख्नुस्, परिश्रम गर्नुस्, र कहिल्यै हार नमान्नुस्। सफलता पक्कै हात लाग्छ।”

प्रतिक्रिया

Bio